गुल्मी, १९ असोजः जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ । परीक्षण सफल भएसँगै उक्त साहसिक पर्यटन पूर्वाधार सञ्चालनको तयारी पूरा भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको आयोजनामा निर्माण गरिएको उक्त पूर्वाधारमा ५६८ मिटर लामो जिपलाइन र ११० मिटर लामो स्काई साइक्लिङ निर्माण गरिएको छ । आज बिहानसम्म गरिएको परीक्षणका क्रममा करिब ४० जनाले जिपलाइन र स्काई साइक्लिङको प्रत्यक्ष अनुभव लिएका छन् ।
परीक्षणमा सहभागी लक्ष्मी खनालले जिपलाइनमार्फत यात्रा गर्दा सहज र मनोरम दृश्यसँगै रामाइला अनुभव भएको बताउनुभयो । उहाँले ५६८ मिटर लामो जिपलाइन पार गर्न करिब ५८ सेकेन्ड लागेको बताउनुभयो ।
परीक्षणमा सहभागी प्रकाश भलामीले केही ढिला भए पनि पूर्वाधार सञ्चालनमा आएकाले खुसी व्यक्त गर्नुभयो । पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर जिपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले साहसिक पर्यटन पूर्वाधार सञ्चालन भएसँगै रेसुङ्गामा पर्यटकको आगमन थप बढ्ने बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत विनोद मरासिनीले आगामी एक साताभित्र नियमित सेवा सञ्चालन गरिने जानकारी दिनुभएको छ ।
हाललाई नगरपालिकाले नै जिपलाइन र स्काई साइक्लिङको व्यवस्थापन तथा संयोजन गर्ने उहाँले बताउनुभयो । नगरपालिकाले जिपलाइनका लागि रु ६०० र स्काई साइक्लिङका लागि रु ४०० शुल्क निर्धारण गरेको छ ।
समुद्री सतहबाट दुई हजार ३०० उचाइमा रहेको रेसुङ्गाबाट माछापुच्छ«्रे, धौलागिरिलगायत दर्जनौँ हिमशृङ्खला तथा मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ । रेसुङ्गा पार्कदेखि केही माथि पुगेपछि ऐतिहासिक तथा धार्मिकस्थल रेसुङ्गा यज्ञशाला, महापोखरी, सिद्धस्थान, रामकुवा, विष्णुपादुका र साउनेलगायत काठमाडौँमा सहजै पुग्न सकिन्छ ।
खनाल इन्फ्रा प्रालि, रेसुङ्गा–९ गुल्मीद्वारा रु एक करोड २५ लाखको लागत सम्झौतामा निर्माण सुरु गरिएको उक्त योजना विभिन्न समस्याका कारण लामो समयदेखि अलपत्र परेको थियो । जसका कारण निर्माण कार्य सम्पन्न भएपछि परीक्षण हुन बाँकी रहेका कारण भुक्तानी रोकिएको थियो । पछिल्लो समय गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको अवस्थामा थपिएको यस प्रकारको साहसिक पर्यटन पूर्वाधारले जिल्लाको पर्यटन विकासमा नयाँ फड्को मार्ने अपेक्षा गरिएको छ ।