असोज १६, २०८३ शुक्रबार

कैलाली, १६ असोजः कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी आज खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुवेदी धनगढीबाट अन्य तीन जना साथीसँगै खुटिया नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा नदीमा डुबेका सुवेदीलाई उनका साथीहरूले तत्काल खोजी गरे पनि फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर खोजी गरिरहेको प्रहरी प्रवक्ता तिमिल्सिनाले बताउनुभयो ।