असोज १४, २०८३ बुधबार

नारायणगढ (चितवन), १३ असोजः राप्ती नगरपालिका–१३, कालीटार र वडा नं १२, यौरालीटारको वडा कार्यालय परिसबाटै नागरिकता वितरण गरिएपछि स्थानीयवासी  खुसी भएका छन् । 

    जिल्ला प्रशासन कार्यालय, चितवनले विकट क्षेत्र मानिएको सो क्षेत्रबाट नागरिकता वितरण गरेपछि स्थानीय भने दङ्ग परेका छन् । प्रशासनको टोलीले नागरिकता वितरण गरेसँगै जिल्ला निर्वाचन कार्यालयको टोलीले मतदाता नामावलीमा नाम दर्ताका लागि आवश्यक विवरणसमेत सङ्कलन गरेको छ ।
 
    मङ्गलबार राप्ती नगरपालिका–१३ कालीटारका ८४ र वडा नं १२ यौरालीटारका २८ जनालाई नागरिकता वितरण गरिएको हो ।

    सदरमुकाम भरतपुरसम्म आउन टाढा पर्ने, यातायातको सुविधा सहज नहुँदा खर्चिलो हुने तथा वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र विकट क्षेत्रमा बसोबास गर्ने नागरिकलाई कार्यालयसम्म आउन कठिन हुने भएकाले वडामै पुगेर नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो ।
 
    उहाँका अनुसार वडाबाट सिफारिस भई आएका र प्रशासनबाट आवश्यक कागजी प्रक्रिया पूरा गरेका नागरिकलाई कर्मचारीसहित मङ्गलबार वडामै पुगेर नागरिकता वितरण गरिएको हो ।

    नागरिकता वितरणसँगै मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यसमेत गरिएकाले नागरिकलाई एउटै स्थानबाट दुई वटा सेवा प्राप्त भएको उहाँले बताउनुभयो ।
 
    प्रमुख जिल्ला अधिकारी अर्यालले राप्तीका विकट क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सदरमुकामसम्म आएर नागरिकता लिन कठिन हुने भएकाले प्रशासनले वडामै पुगेर सेवा दिएको बताउनुभयो । 

    कालीटारसम्म पुग्न करिब साढे छ घण्टाको यात्रा गर्नुपरेको र सडकको अवस्थाका कारण विभिन्न स्थानमा गाडी परिवर्तन गर्नुपरेको तथा कतिपय ठाउँमा पैदल हिँडेर पुग्नुपरेको उहाँले बताउनुभयो ।
 
    कालीटारभन्दा माथिल्लो क्षेत्रमा रहेका नागरिकसमेत नागरिकता लिन चार–पाँच घण्टा पैदल हिँडेर आउनुपर्ने बाध्यता छ । 

    विशेषगरी, चेपाङ समुदायको बसोबास रहेको यस क्षेत्रमा भौगोलिक विकटता, गरिबी तथा शिक्षाको कमीका कारण नागरिकता बनाउनुपर्ने विषयमा कतिपय नागरिकलाई जानकारी छैन । नागरिकता नहुँदा राज्यबाट प्राप्त हुने विभिन्न सेवा तथा सुविधाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ ।

    “यहाँ धेरै चेपाङ समुदाय नागरिकताविहीन रहेको जानकारी पाएपछि निवेदन तथा अनुसूची प्रमाणित गरेर ल्याउन भनेका थियौँ । वडाध्यक्षले आवश्यक कागजात ल्याउनुभएपछि आज हामीले यहाँ नागरिकता दिन सफल भएका छौँ”, प्रजिअले भन्नुभयो । 
 
    नागरिकता नपाएका कारण कुनै पनि नागरिक राज्यका सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रशासनले आवश्यक सहजीकरण गरेको हो । प्रमुख प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीले विकट स्थानमा नागरिकलाई सेवा दिन पाउँदा सन्तुष्टि मिलेको बताउनुभयो । 

    राप्ती नगरपालिका–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले वडाले नागरिकता नभएका व्यक्तिको विवरण सङ्कलन गरी सनाखतसहित प्रशासनमा बुझाएको बताउनुभयो । 
 
    विशेषगरी अपाङ्गता भएका व्यक्ति तथा वृद्धवृद्धालाई सदरमुकामसम्म पुग्न कठिन हुने भएकाले वडामै नागरिकता वितरण हुँदा खुसी लागेको वडाध्यक्ष प्रजाले बताउनुभयो । 
    
    नागरिकता प्राप्त गरेपछि प्रक्रिया पूरागरी सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुल्ने तथा मतदाता नामावलीमा नाम दर्ता र मतदाता परिचयपत्र प्राप्त गर्नसमेत सहज हुने उहाँले बताउनुभयो ।
     
    जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जिल्ला प्रशासनको टोलीसँगै कार्यालयका कर्मचारीले कालीटार र यौरालीटारमा पुगेर नागरिकता प्राप्त गर्ने सबैको मतदाता नामावलीका लागि विवरण सङ्कलन गरेको बताउनुभयो ।
 
    उहाँका अनुसार नागरिकता प्राप्त गरेका ११२ जनाको मतदाता नामावलीमा नाम दर्ताका लागि आवश्यक विवरण भरिएको छ । नागरिकता भए पनि मतदाता परिचयपत्र नभएका केही नागरिकको मतदाता नामावलीमा नाम दर्ता गरी परिचयपत्र बनाउने व्यवस्था गरिएको छ ।