असोज ११, २०८३ आइतबार

साना, ११ असोज : दक्षिण–पश्चिम यमनको ताइजमा साउदी हवाई आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको हुथी सञ्चारमाध्यमले आइतबार जनाएको छ ।

    इरान–समर्थित हुथी विद्रोहीको ‘अल–मसिराह’ टेलिभिजनका अनुसार, ताइजको एक प्रमुख बजारमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको हो । उक्त क्षेत्रमा साउदी लडाकु विमानले आक्रमण गरेको केही मिनेटपछि बजारमा क्षति पुगेको बताइएको छ ।

    घटनाबारे साउदी अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । एएफपीले पनि हुथी सञ्चारमाध्यमको उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । हुथी प्रवक्ता याह्या सारीले शनिबार साउदी वायुसेनाले ताइज, मारिब, सादा, अमरान, इब्भ र हाज्जा प्रान्तमा २७ पटक हवाई आक्रमण गरेको दाबी गर्नुभएको थियो । 

    यसैबीच, साउदी अरबले शनिबार राजधानी रियादतर्फ अघि बढिरहेका दुई हुथी ड्रोनलाई बीचमै खसालेको जनाएको छ । रियादका विद्यालयहरूले आइतबारदेखि एक साताका लागि घरबाटै पढाइ सञ्चालन गर्ने घोषणा गरेका छन् । अभिभावकलाई पठाइएका र एएफपीले हेरेका इमेलअनुसार, विद्यालयहरूले निर्णयको कारण भने खुलाएका छैनन् ।

    अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारको नियन्त्रणमा रहेको प्रमुख सहर ताइज लामो समयदेखि हुथी विद्रोही र सरकारी सेनाबीचको सङ्घर्षको केन्द्रमा रहँदै आएको छ । सन् २०१४ मा हुथीहरूले राजधानी सना कब्जा गरेपछि यमनमा युद्ध चर्किएको थियो । त्यसपछि हुथीहरूले देशको उत्तरी क्षेत्रका ठूलो भू–भागमा नियन्त्रण कायम गरेका छन् ।

    साउदी नेतृत्वको गठबन्धनले यमनी सरकारलाई समर्थन गर्दै हुथीविरुद्ध सैन्य कारबाही गर्दै आएको छ । पछिल्लो समय क्षेत्रीय तनावसँगै यमनमा पनि हिंसा बढेको छ ।