राजकुमार पराजुली
काभ्रेपलाञ्चोक, ९ असोजः अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको विभिन्न सडक खण्डमा पहिरो जाँदा तथा लेदाले राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ ।
रोशी खोलाको बाढीले सम्पूर्ण अस्थायी डाइभर्सन बगाएपछि पुनर्निर्मित पुरानै सडक–ट्रयाकबाट सवारी आवागमन गराइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
वर्षा रोकिएलगत्तै पुनर्निर्मित पुरानै सडक–ट्रयाकबाट सवारी आवागमन थालिने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार पुनिर्निर्मित पुरानै सडक–ट्रयाकमा वर्षाका कारण कहीँकतै अप्ठ्यारो देखिए मर्मत गरी यातायातका साधन सञ्चालन गरिनेछ । विसं २०८१ असोज दोस्रो हप्ताको बाढीपहिरोले क्षतिग्रस्त काभे्रपलाञ्चोक तर्फको करिब २५ किलोमिटर सडक क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त सडक पुनर्निर्माणको चरणसम्म रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर आवागमन सञ्चालन गरिँदै आएको थियो ।
जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजगर गर्दै राजमार्गअन्तर्गत काभे्रपलाञ्चोक खडकखण्डमा ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले बाढीपहिरोको अवस्था हेरि दिनको समयमा पनि बन्द गर्नसक्ने जनाएको छ । “वर्षा रोकिएपछि पुरानै सडक–ट्रयाकबाट सवारी आवागमन थाल्नेछौँ, यसका लागि तयारी अवस्थामा छौँ”, योगेशले भन्नुभयो । जारी वर्षामा जोखिम हुने भएकाले अहिले पुनर्निर्मित नयाँ सडकबाट सवारी आवागमन गराउने नसकिने उहाँको भनाइ छ । स्थायी रुपमा थालिएको पुनःनिर्माणकार्यसँगै २५ किमी पुनर्निर्मित ट्रयाकबाटै पूर्णरुपमा सहज तरिकाले सवारी आवागमन समेत गराइने भएको छ ।
त्यस राजमार्गमा पछिल्ला केही महिनादेखि पुनर्निर्माणकार्यलाई तीव्रता दिइँदै आइएको थियो । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै रोशीको बाढीले अस्थायी रुपमा बनाइएको डाइभर्सन बगाउने हुँदा अवरुद्ध भइहाल्थ्यो ।
हाल कार्यालयले पुनर्निर्मित ट्रयाकमा वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुन नदिने गरी तथा अवरुद्ध भइहाले आधा घण्टाभित्र सञ्चालनमा ल्याउने तयारी समेत गरिएको योगेशले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षायामलाई मध्यनजर गर्दै पुनर्निर्मित ट्रयाकमा वर्षालगायत कारण अवरुद्ध भइहाले आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ, यसका लागि आवश्यक ‘इक्युपमेन्ट’समेत ‘स्ट्याण्डबाई’ अवस्थामा राखिएको छ ।”
उहाँका अनुसार साविककै स्थानमा पुनर्निर्माण भएका अधिकांश खण्डबाट पनि आवागमन हुँदै आएको थियो । पछिल्लो समय चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्रयाकबाट आवागमन गराउँदै आइएको थियो ।
चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त स्थानका रुपमा पहिचान गरेको छ । दुई वर्षअघिको बाढीपहिरोले राजमार्गअन्तर्गत भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो ।
उक्त राजमार्ग यसअघिको बाढीबाट क्षति भएका अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा केही स्थानमा भने वर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिएको हो । हाल वर्षायामअघि सात मिटर उचाइसम्म सडक बनाएर ग्राभेल राख्न थालिएको थियो भने वर्षापछि खोलाबाट करिब १० मिटर उचाइसम्म सडक बनाएर कालोपत्र गरिने जनाइएको छ ।
कतिपय स्थानमा आरसिसी वालको फाउण्डेसन पूरा भई अन्य काम भइरहेको छ भने ट्रयाक निर्माण भएका सडकमा ग्राभेल हार्लिकाले सवारीसाधन सञ्चालनमा कुनै समस्या आउने छैन ।
क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो ।
क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक निर्माणको काम जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गरिरहेको छ । जाइकाले उक्त खण्डमा माटो भरेर बोल्डर (ठूला ढुङ्गा) राख्ने काम गरेको जनाएको छ । वर्षाका समयमा पनि यस खण्डमा खोलाबाट सवारीसाधन चलाउनुपर्ने अवस्था नभएको योगेशले बताउनुभयो । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरी कामअघि बढाइएको हो ।
अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको छ । “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरी दुई लेनको बनाइनेछ”, योगेशले भन्नुभयो । उहाँका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ । तीनवटै खण्डमा छ दशमलव तीन किलोमिटर आरसिसी पर्खाल निर्माण हुनेछ ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ धुलिखेल–सिन्धुली–बर्दिबाससम्मको एक सय ६० किमी बिपी राजमार्ग निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।