असोज ९, २०८३ शुक्रबार

ताप्लेजुङ, ९ असोजः मनसुनजन्य गतिविधिका कारण विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला अस्पताल ताप्लेजुङले स्वास्थ्य सेवा निरन्तरता र विपद् प्रतिकार्यका लागि आवश्यक तयारी गरेको छ ।
 
    अस्पतालले अत्यावश्यक अवस्थाबाहेक कर्मचारी तथा स्वास्थ्यकर्मीको सात दिनसम्मको बिदा र काज स्वीकृत नगर्ने निर्णय गरेको छ । यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको हो । सम्भावित विपद्मा आवश्यक जनशक्ति अस्पतालमै उपलब्ध गराई स्वास्थ्य सेवा प्रभावकारी बनाउने उद्देश्यले उक्त निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा किरण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आपत्कालीन अवस्थामा आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री, उपकरण, इन्धनलगायतका स्रोत–साधनको पर्याप्ततालाई सुनिश्चित गरिएको छ । ती सामग्री तथा स्रोत–साधनको अवस्थाबारे नियमित बुझ्ने व्यवस्था गरिएको छ ।  
 
    सम्भावित विपद्का समयमा स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आवश्यकताअनुसार तत्काल परिचालन गर्न अस्पतालले आपतकालीन स्वास्थ्य टोलीसमेत गठन गरेको छ । उक्त टोलीलाई आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रदान गर्न तयारी अवस्थामा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा थापाले बताउनुभयो ।
 
    मनसुनजन्य विपद्का कारण हुनसक्ने मानवीय क्षति तथा स्वास्थ्यसम्बन्धी जोखिमलाई न्यूनीकरण गर्दै उपचार तथा स्वास्थ्य व्यवस्थापन गर्न अस्पतालले आवश्यक समन्वय र तयारीलाई प्राथमिकतामा राखेको जनाएको छ ।