दाङ, ९ असोजः स्थानीय दङ्गीशरण गाउँपालिकाको हेलुकीमा तीन वर्ष पहिले निर्माण गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन ।
उक्त चिस्यान केन्द्र सञ्चालन नहुँदा किसानका उत्पादन राख्ने जुन लक्ष्यका साथ निर्माण गरिएको हो त्यो पुरा नभएको भनी स्थानीयको गुनासो छ ।
उक्त गाउँपालिका–३ का कृषक माइली चौधरीले चिस्यान केन्द्र सञ्चालन नहुँदा उत्पादन गरेका तरकारी तथा फलफूल भण्डारणमा समस्या भोग्नुपरेको गुनासो गर्नुभयो ।
गत वर्ष बीउको लागि राखिएको आलु कुहिएपछि नोक्सान व्यहोनुपरेको भन्दै यस वर्ष पनि आलु कुहिन्छन् कि भन्ने चिन्ता लागेको उहाँले प्रतिक्रिया दिनुभयो ।
तीन वर्षअघि नै निर्माण भएको सो चिस्यान केन्दको भवनमा प्राविधिक त्रुटिका कारण सञ्चालनमा ढिला भएको पालिकाले जनाइ रहँदा किसानहरुले भने यथाशीघ्र सञ्चालनमा ल्याउन माग गरिरहेका छन् ।
संरचनाको केही भाग जमिनमुनि धसिनुका साथै केही ठाउँमा चर्किएकाले सञ्चालनमा ढिला भएको गाउँपालिकाका शव इन्जिनियर कालुराम चौधरीले जानकारी दिनुभयो । उहाँकाअनुसार केन्द्रको क्षतिग्रस्त बाह्य संरचना तथा भण्डारणको मर्मतसँगै सञ्चालनमा ल्याइने तयारी छ ।
गत आर्थिक वर्ष गाउँपालिकाको रु सात लाख बजेट खर्च गरेर चिस्यान केन्द्रको चर्किएको बाहिरी भाग र च्याम्बर मर्मत गरिएको थियो ।
सङ्घीय सरकारको समपूरक अनुदानअन्तर्गत ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लगानी गरी रु ९४ लाख २६ हजार ८९ को लागतमा उक्त चिस्यान केन्द्र निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले जानकारी दिनुभयो ।
अध्यक्ष गिरीका अनुसार निर्माणको जिम्मा पाएको लोकमणि बिल्डर्स निर्माण कम्पनीले आगामी दशँैअगावै योजना सञ्चालन हुने गरी बाँकी कामलाई अगाडि बढाएको छ ।
सुरुमा जेनेटरको माध्ययमबाट सञ्चालन गर्ने योजनाले निर्माण गरिएको उक्त केन्द्रलाई अहिले विद्युत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया बढाइएको छ । अर्कातर्फ विद्युत् प्राधिकरणले पनि ट्रान्स फर्मरको प्राविधिक परीक्षणपछि लाइन जडान गरिने जनाएको छ ।
उक्त गाउँपालिका तरकारीखेतीको पकेट क्षेत्रका रुपमा छ । त्यस्तै छिमेकका बबई र शान्तिनगर पनि तरकारी र फलफूलखेतीका लागि परिचित छन् । त्यस क्षेत्रका किसान व्यावसायिक तरकारी र फलफूलखेतीमै आत्मनिर्भर रहँदै छन । यस्तो अवस्थामा निर्माण भएको ५० टन क्षमताको चिस्यान केन्द्रसमेत सञ्चालनमा नआउँदा किसान अन्यौलमा परेका हुन । उक्त केन्द्र सञ्चालन आएमा बबई र शान्तिनगरसहितका किसानका तरकारी, फलफूल भण्डारण गर्न सहज हुनेछ ।