असोज ९, २०८३ शुक्रबार

राँझा (बाँके), ९ असोजः राप्ती सोनारी गाउँपालिका, बाँकेले सुरक्षित आश्रयस्थल तयारी अवस्थामा राखेको छ । 

    भारी वर्षाको कारण हुनसक्ने प्राकृतिक विपद्को सम्भावनालाई ध्यानदिँदै सुरक्षित स्थान तयारी अवस्थामा राखेको हो । भारी वर्षा पछि हुनसक्ने डुबान व्यवस्थापनलाई मध्यनजर गर्दै गाउँपालिकामा करिब दुई हजारसम्मलाई आश्रय दिन सकिने क्षमता रहेका सुरक्षित आश्रयस्थल तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो ।

उहाँका अनुसार, राप्ती सोनारी गाउँपालिकामा  अहिले पाँचवटा सुरक्षित आश्रयस्थल सञ्चालनमा छन् । थप दुईवटा भवनको निर्माण भइरहेको छ । पालिकामा वर्षायाममा राप्ती नदी तथा विभिन्न खहरे खोलामा आउने बाढीका कारण मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने तथा विद्यालय, स्वास्थ्य संस्था र सडकजस्ता संरचनामा क्षति पुग्ने जोखिम छ ।

“राप्ती सोनारी सबैखाले विपद्बाट प्रभावित हुने गाउँपालिका हो, वर्षायाममा राप्ती नदी र विभिन्न खहरे खोलाको बाढीले मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने र विद्यालय, स्वास्थ्य संस्था तथा सडकजस्ता संरचनामा क्षति पुग्ने सम्भावना रहन्छ”, अध्यक्ष पौडेलले भन्नुभयो ।”

गाउँपालिकाले यस वर्ष विपद् प्रतिकार्य योजनासमेत तयार गरेको छ । बाढी तथा डुबान भए प्रभावितलाई उद्धार गरी सुरक्षित आश्रयस्थलमा राख्ने, स्वास्थ्य उपचार, खाद्यान्न तथा राहत उपलब्ध गराउनेदेखि मनोसामाजिक परामर्शसम्मका लागि तयारी गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

उहाँका अनुसार, स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ । वडा कार्यालय, वडा विपद् व्यवस्थापन समिति तथा गाउँपालिका विपद् व्यवस्थापन समितिमार्फत मनसुनअघि र मनसुनपछि आवश्यक तयारी तथा व्यवस्थापनका कामलाई निरन्तरता दिइएको छ ।