असोज ९, २०८३ शुक्रबार

काठमाडौँ, ९ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्याय केवल संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा सज्याएर राख्ने वाक्यांशमा मात्र सीमित रहन नहुने बताउनुभएको छ ।

राष्ट्रसङ्घको ८१औँ महासभालाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भन्नुभयो “जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन । हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्छ, हामी जलवायु न्यायका पक्षमा छौँ, हामीले न्याय पाउनुपर्छ ।”

उहाँले नेपालका लागि जलवायुजन्य महाविपत्ति केवल मानवीय घटना मात्र नभई ‘विकासको आपत्काल’ समेत भएको स्पष्ट पार्नुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले बढी मात्रामा कार्बज उत्सर्जन गर्ने राष्ट्रहरूले नै बढी जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै उहाँले जलवायु न्याय अब पीडितका पक्षमा हुनुपर्ने र राष्ट्रसङ्घका दस्ताबेजमा मात्र सीमित सुन्दर वाक्यांश बन्न नहुने बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनको असरका सम्बन्धमा सबै पक्षले आ–आफ्ना दायित्व पूरा गरून् भन्ने पक्षमा नेपाल रहेको पनि स्पष्ट गर्नुभयो ।

बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री शाहले साना तथा गरिब मुलुकको उपस्थिति र आवाज प्रभावकारी हुने संयुक्त राष्ट्रसङ्घ आजको आवश्यकता हो भन्नुभयो ।

उहाँले भन्नुभयो, “जलवायु न्याय आर्थिक सहयोगमा मात्र सीमित नभई लागत कसले व्यहोर्ने, निर्णय प्रक्रियामा कसको आवाज सुनिने र भावी पुस्ताको भविष्यलाई कसरी समान महत्व दिने भन्ने विषयसँग जोडिएको छ ।”

प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्लाई भूराजनीतिक विवादको विषय बनाउन नहुनेमा जोड दिँदै नेपाल सदैव जलवायु न्यायका पक्षमा रहेको दोहोर्याउनुभयो ।