असोज ८, २०८३ बिहिबार

बागलुङ, ८ असोजः जिल्ला प्रशासन कार्यालयले अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै विपद्का लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्न पनि सबैमा अनुरोध गरेको छ । 

    प्रशासनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै विद्मा आवश्यक एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा ठूला उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ । 

    नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही स्थानमा आजदेखि असोज ११ गतेसम्म अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको विशेष मौसम बुलेटिन जारी गरेपछि बागलुङ जिल्ला पनि जोखिममा रहेकाले प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेर जिल्लामा विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम हुन सक्ने भन्दै सुरक्षा सचेतनाका लागि सूचना जारी गर्ने तथा सबै सुरक्षा निकायले खोज तथा उद्धार सामग्रीसहित सुरक्षा जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।

    जोखिमयुक्त वस्तीमा पूर्वसतर्कता अपनाउन सबै स्थानीय तहसँग निरन्तर समन्वय र सहकार्य गर्ने, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराई सुरक्षित अवस्थामा रहन स्थानीय तह र स्थानीय प्रहरी इकाइमार्फत अनुरोध गर्ने, भारी वर्षा हुने अनुमान गरिएका स्थान तथा खोला किनारका बस्तीमा सूचना प्रवाह गर्ने, साथै जोखिम बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन जिल्लास्थित स्थानीय तहलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

    उहाँका अनुसार बैठकले अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र एवम् एम्बुलेन्सहरू तयारी अवस्थामा राख्ने, स्थानीय तहलाई विपद् उद्धार सामग्री र सडक अवरोध हटाउने उपकरण (जेसिबी/एक्साभेटर) निर्माण व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय गरी आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।