काठमाडौँ, ८ असोजः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सर्वसाधारणको राय तथा सुझावका लागि सार्वजनिक गरेको छ ।
मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ बमोजिम संशोधन विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण, सरोकार भएका निकाय तथा सम्बन्धित पक्षबाट राय तथा सुझाव मागेको हो ।
नेपाल सरकारको ‘कार्य विभाजन नियमावली, २०८३’ अनुकूल हुने गरी ऐनका केही व्यवस्था संशोधन तथा थप स्पष्ट गर्नुपर्ने आवश्यकता देखिएपछि संशोधन विधेयकको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।
प्रस्तावित संशोधनमा खाद्य स्वच्छताको परीक्षण तथा अनुगमनका क्रममा अखाद्य पदार्थ वा न्यून गुणस्तरका खाद्य पदार्थ बिक्रीवितरण गरेको पाइएमा तत्काल जरिवाना गर्न सकिने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ । खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनी व्यवस्था थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने उद्देश्यले उक्त व्यवस्था प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मस्यौदामाथि कुनै राय वा सुझाव भए यही असोज १४ गतेभित्र मन्त्रालयको कानुन शाखाको इमेलमार्फत पठाउन अनुरोध गरेको छ । प्राप्त राय तथा सुझावलाई आवश्यकताअनुसार समेटी संशोधन विधेयकको मस्यौदालाई थप परिमार्जन गरिने मन्त्रालयले जनाएको छ ।
---