हेटौँडा, ७ असोजः मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुर र मनहरी गाउँपालिका–६ सुनाचुरीमा निर्माणाधीन दुई ‘मोबाइल टावर’ दसैँअघि सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
सांसद प्रशान्त उप्रेतीले सो जानकारी दिनुहुँदै कैलाश गाउँपालिकाको कानडाँडामा निर्माण भइरहेका थप दुई टावर सञ्चालनको अन्तिम चरणमा रहेको बताउनुभयो । त्यसैगरी, मनहरी गाउँपालिकाका दुई स्थान, इन्द्रसरोवर गाउँपालिकाको एक तथा कैलाश गाउँपालिकाको डाँडाखर्क, नामटार र भार्तासँगै थाहा नगरपालिकाको चनवनमा समेत मोबाइल टावर निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । आवश्यकताअनुसार अन्य स्थानमा रहेका टावरको स्तरोन्नतिको कामसमेत अघि बढाइएको उहाँको भनाइ छ ।
सांसद उप्रेतीले गत भदौ ३० गते बसेको प्रतिनिधिसभा बैठकमा मकवानपुर निर्वाचन क्षेत्र नं २ का विभिन्न स्थानमा कमजोर मोबाइल नेटवर्कका कारण नागरिकले भोग्नुपरेको समस्या उठान गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । तत्काल सूचना तथा सञ्चार मन्त्रालयले चासो लिँदै काम अगाडि बढाएको थियो ।
“मकवानपुरका दुर्गम बस्तीका नागरिकले अझै पनि मोबाइलमा नेटवर्क खोज्दै डाँडाकाँडा धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “अब परिणाम नागरिकले अनुभूति गर्नेगरी काम सम्पन्न हुनु आवश्यक छ ।” निर्माणाधीन टावर निर्धारित समयमै सञ्चालनमा ल्याई नागरिकलाई भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।