काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिस आदमबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटवार्तामा मन्त्री खनालले नेपालमा हालै आएको बाढीपछि माल्दिभ्स सरकार र जनताले व्यक्त गरेको समवेदना, ऐक्यबद्धता तथा प्रदान गरेको मानवीय सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।
भेटका क्रममा दुई परराष्ट्रमन्त्रीले नेपाल–माल्दिभ्स द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
उहाँहरूले उच्चस्तरीय भ्रमणको आदानप्रदान तथा पर्यटन, रोजगारी र शिक्षालगायत क्षेत्रमा सहकार्य विस्तार गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल गर्नुभएको थियो ।
त्यसैगरी, उहाँहरुबीच जलवायु परिवर्तन, विकासका लागि वित्तीय स्रोत परिचालन, दिगो विकासलगायत आपसी हित र चासोका विषयमा नेपाल र माल्दिभ्सबीच सहकार्यलाई थप बनाउने विषयमा छलफल भएको थियो ।
संयुक्त राष्ट्रसङ्घ, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लगायतका बहुपक्षीय मञ्चमा पनि साझा हितका विषयमा सहकार्य र समन्वयलाई निरन्तरता दिन उहाँहरु सहमत हुनुभएको छ । भेटवार्तामा राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापासहित भ्रमण दलका सदस्य सहभागी हुनुहुन्थ्यो ।