बागमती, ४ असोजः
“आँसुको दीपावली सजाई खुसी छु
आँसुले जिन्दगानी रुझाई खुसी छु ।
यो कालो रात रन्छ, थप्दै व्यथा मलाई
पग्लन्छ मैनबत्ती, मेरै मुटु गलाई
यस्तो कठिन यात्रा, एक्लै पूरा गरेछु
चाहेर वा नचाही कैयौँ पटक मरेछु ।”
यी गीतका पङ्क्ति साहित्यकार श्रीराम पाण्डेको बजारमा आएको गीतहरूको संगालो ‘आँसुको दीपावली’(गीतगुच्छा) मा रहेको आँसुको दीपावली शीर्षककै गीतबाट झिकिएका हुन् ।
विभिन्न विषय र क्षेत्रलाई समेटिएका गीतहरू रहेको यस कृतिका माध्यमबाट गीतकारले आफू स्वयंका साथै समाज र देशलाई समेट्न खोज्नुभएको छ ।
“मान्छेको जीवनमा नीहित भावनात्मक उद्वेग, संवेदना र कुण्ठाग्रस्त मनस्थिति, प्रेम, मर्यादा र उत्सर्गलाई शालीन आवरणमा प्रस्तुत गर्ने प्रयास गरेको छु”, आफ्नो कृतिका सम्बन्धमा गीतकार पाण्डे भन्नुहुन्छ । मनका असन्तुष्टि, कुण्ठा, उत्कण्ठा, विद्रोह आदिलाई कृतिका माध्यमबाट संयमित ढङ्गले कलात्मक रङमा अभिव्यञ्जित गर्न खोजिएको उहाँले बताउनुभयो ।
यहाँका हरेक गीतका हरेक हरफमा घण्टौँ घोत्लिएर जीवन र जगत्सँगको तादात्म्य उद्भाषित गर्ने कोशिस गरिएको गीतकार पाण्डेको भनाइ छ । कुल १०४ पृष्ठमा समेटिएको नीलिमा पाण्डे प्रकाशक रहनुभएको कृतिमा जीवन जगत्का यथार्थता, भोगाई र अनुभवलाई साहित्यकार पाण्डेले समेट्ने प्रयास गर्नुभएको छ ।
आफ्नो हेटौँडा बसाईको २५ वर्षे समयावधिमा विभिन्न समयमा लेखिएका गीतहरूलाई नै समेटेर कृति तयार गरेको उहाँले अनुभव सुनाउनुभयो । अधिकांश श्रृङ्गारिकताले ओतप्रोत देखिने गीतमा मायाप्रितीका कुरा धेरै समेटिएका छन् ।
“छटपटीमा रात बित्यो, पोल्यो बिहानीले
मलाई रुवाउन फेरि सम्झ्यो बैगुनीले ।
सुखदुःख जेजस्तो छ, सकारेकै थिएँ
आफ्नै संसारमा भुली म बाँचेकै थिएँ
सम्झनाको तिखो तीर रोप्यो निर्दयीले
मलाई रुवाउन फेरि सम्झ्यो बैगुनीले ।।”
विभिन्न ८४ वटा गीतहरू सङ्ग्रहित यस गीतगुच्छामा हाम्रो सहरको वास्तविकतालाई उल्लेख गर्दै ‘यो सहर’ शीर्षकको गीतमा मान्छेको मान्छेपना नै हराएको भन्दै,
“रङ्गीन छ बाहिर यो सहर, छ शान्त बाहिर यो सहर
तर, भित्र दाउपेचमा जञ्जाल झेल्छ यो सहर ।
देखेर झुत्रो झोपडी यो दुःखले टोल्हाउँछ
मान्छेपना हराउँदा सन्तापले लोलाउँछ
अतासिएकी बालिका देखेर हड्बडाउँछ
चित्कारमा रमाउँदै यो मात बर्बराउँछ ।।” भनिएको छ ।
निजगढ र हेटौँडालाई कार्यस्थल बनाउँदै अध्यापन पेसाबाट निवृत्त पाण्डेले गीतका साथै कथा, निबन्ध, नाटक, उपन्यासजस्ता विभिन्न विधामा निरन्तर कलम चलाउँदै आउनुभएको छ । उहाँका मातृस्मरण (शोकस्मृतिकाव्य), दोछायाँ (संस्मरणहरू), बन्दीगृहमा समय (कविताकर्म), दुर्घटित जन्म (कथा सङ्ग्रह), निशब्द शब्द (कवितावलि) कृतिहरू प्रकाशित भइसकेका छन् भने अन्य केही पुस्तकाकार पाण्डुलिपि प्रकाशनको पर्खाइमा छन् ।
गीतकार पाण्डेको आँसुको दीपावली पुस्तक एक कार्यक्रमकाबीच यसै हप्ता हेटौँडास्थित पिएम सेन्टर सङ्गीत विभागमा लोकार्पण गरिएको थियो । पिएम सेन्टर सङ्गीत विभागका अध्यक्ष वरिष्ठ सङ्गीतकार प्रमेन्द्र महर्जन, शिक्षासेवी रामचन्द्र फुर्सदी, सङ्गीतकार लाल श्रेष्ठलगायतले सामूहिक रुपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो ।