भदौ ३१, २०८३ बुधबार

काठमाडौँ, ३१ भदौः प्रतिनिधिसभामा सांसदहरुले भोटेकोशी बाढीपछिको खोज, उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन संसद्बाट सर्वदलीय समिति गठन हुनुपर्ने बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिँदै उहाँहरुले विपद्पछिको उद्धारका साथै सुरक्षित यातायातका लागि सडक सुरक्षामा ध्यान दिन र चालकको अनुभवलाई अपरिहार्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    बैठकमा सांसद अर्जुननरसिंह केसीले भोटेकोशी बाढीपछिको खोज र उद्धार कार्य थप प्रभावकारी बनाउन तथा राहत र पुनःस्थापनाका काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यस कार्यमा आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गरिरहेको जानकारी दिँदै विपद्मा प्रभावकारी राहत र उद्धारका लागि संसद्बाट सर्वदलीय समिति निर्माण गर्नु आवश्यक रहेकामा जोड दिनुभयो ।

    सांसद केसीले अत्यावश्यक दैनिक उपभोग्यमा देखिएको कालोबजारी र महङ्गी नियन्त्रण गर्न तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकारसँग माग गर्नुभयो ।

    सांसद पुकार बमले मकवानपुरमा मङ्गलबार भएको विद्युतीय गाडी दुर्घटनाको बारेमा जानकारी गराउँदै सुरक्षित यातायातका लागि सडक सुरक्षा तथा चालकको परिपक्वता र अनुभव सन्दर्भमा समेत ध्यान दिइनु पर्ने माग गर्नुभयो । 

    उहाँले नेपालमा विद्युतीय गाडी नयाँ भएकाले ‘इभी सेफ्टी एजुकेशन’ लागू गर्न माग गर्नुभयो ।

    सांसद धनन्जय रेग्मीले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारणले भएको भन्नेमा दुईमत नरहेको उल्लेख गर्दै नेपालसँग भएका प्रमाणका साथै इसिमोडलगायत निकायले गरेको अध्ययन र अनुसन्धानले समेत उक्त विषय पुष्टि भइसकेको बताउनुभयो ।

    विश्वव्यापी तापक्रम वृद्धिले हिमाली क्षेत्र प्रभावित भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न संयुक्त राष्ट्रसङ्घको महासभामा हुने सहभागितामा संयुक्त धारणा हुने गरी विषयवस्तु तयारी गर्नुपर्ने बताउनुभयो । जलवायु र हिमालका मुद्दामा नेपालले नेतृत्व गरी विश्वव्यापी तापक्रम बढेको र जलवायु परिवर्तन भएको विश्वलाई सन्देश दिनुपर्ने सांसद रेग्मीको भनाइ थियो ।

सांसद माधवबहादुर थापाले पाल्पाको सिद्धबाबा क्षेत्रमा दिनहुँ हुने दुर्घटनाका बारेमा जानकारी गराउँदै सो क्षेत्रमा निर्माणाधीन सुरुङ मार्ग अन्तिम चरणमा पुगेको भए पनि चाँडो निर्माण सम्पन्न गर्न काममा तीव्रता दिन आग्रह गर्नुभयो । उहाँले वैकल्पिक सडकको निर्माण र मर्मतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दीपककुमार शाहले महोत्तरीमा नागरिकले विकास निर्माणको माग गर्दा झडपको घटना हुनु दुःखद् भएको उल्लेख गर्दै उक्त विषयका बारेमा छानबिन गरी सत्यतथ्य उजागर गर्न माग गर्नुभयो ।

    सांसद लालविक्रम थापाले इटहरीको शिरबाट बग्ने खोला भत्केर बजार क्षेत्रमा जलमग्न भएको जानकारी गराउँदै बाँधभन्दा खोला अग्लो भएको र खोलाले धार परिवर्तन गरेकाले समयमै रोकथामका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
---