काठमाडौँ, २८ भदौः प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५, स्वयम्भू भगवानपाउँबाट यही भदौ ९ गते चोरी भएको मोटरसाइकल खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा धादिङका उनबहादुर स्याङ्तान र मकवानपुरका दिपेश मोक्तान रहेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट स्वयम्भू बुद्धपार्कबाट चोरी भएको दुईवटा मोटरसाइकल, टी आकारको मास्टर चाबी एक थान तथा मोबाइल फोन दुई थान बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।