म्याग्दी, २७ भदौः म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा सामुदायिक पहलमा आवासीय विद्यालय सञ्चालन भएको छ । मच्छिममा रहेको भूमे आधारभूत विद्यालयलाई आवासीयमा रूपान्तरण गरिएको हो ।
अभिभावकविहीन र विपन्न विद्यार्थीहरूका लागि छात्रावास सञ्चालन गरेर आवासीय विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक सुुरेन्द्र छन्त्यालले जानकारी दिनुुभयो । कमजोर विद्यार्थीको सिकाई उपलब्धी वृद्धि गर्नु पनि छात्रावासको अर्को उद्देश्य रहेको उहाँले बताउनुभयो ।
“अभिभावक नभएका, पारिवारिक समस्यामा परेका र विपन्न समुदायका बालबालिकालाई निःशुल्क खाने, बस्ने व्यवस्थासहित छात्रावास सञ्चालन गरेका हौँ”, प्रअ छन्त्यालले भन्नुभयो, “गत वैशाखदेखि छात्राबास र आवासीय सञ्चालन भएको विद्यालयमा मच्छिम बाहेकका गाउँबाट विद्यार्थी पढ्न आएका छन् ।” उहाँका अनुसार विद्यालयको पुुरानो भवनमा विद्यार्थीहरूलाई आवासको व्यवस्था मिलाइएको छ ।
गत वैशाखदेखि सञ्चालन भएको छात्राबासमा ३२ जना विद्यार्थीले आवासीय सुुविधा पाएका छन् । बीस जनाभन्दा बढी विद्यार्थी लुलाङ, गुर्जा, मुना, मुदी र धारापानीका छन् । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा कूल विद्यार्थी ८९ जना छन् ।
छात्राबासमा बस्ने विद्यार्थीका लागि खाने, बस्नेसहित पोसाक, सरसफाइ सामग्री, झोला, कापी कलम निःशुल्क उपलब्ध गराइएको प्रअ छन्त्यालले बताउनुभयो । छात्राबासका विद्यार्थीलाई शिक्षकले आलोपालो गरेर अतिरिक्त सुविधा नलिइ पढाउने गरेका छन् । कार्यालय सहयोगी, आया र होस्टल इञ्चार्जको व्यवस्था विद्यालयका मौजुदा जनशक्तिहरूबाटै मिलाइएको छ ।
मासिक रु ६० हजार सञ्चालन खर्च आवश्यक पर्ने रकमको स्रोत दाताहरूबाट चन्दा सहयोग मागेर जुटाइएको प्रअ छन्त्यालले बताउनुभयो । सरकारले कक्षा ५ सम्मकालाई दिवा खाजाको व्यवस्था गरे पनि विद्यालयले सबै विद्यार्थीलाई निशुल्क दिवाखाजाको व्यवस्था मिलाएको छ । नयाँ भवनमा छात्रावास स्थानान्तरणका लागि फर्निचर र दिगो सञ्चालनका लागि पालिका तथा दाताहरूमा प्रस्ताव गरिएको प्रअ छन्त्यालले बताउनुभयो ।
---