भदौ २७, २०८३ शनिबार

धनगढी, २७ भदौः छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अवस्थित गौशालाले छाडा पशुको व्यवस्थापनसँगै आम्दानी गर्दै आएको छ ।

    विस २०७४ मा स्थापना भएको उक्त गौशालामा हाल १५० वटा छाडा पशु रहेका छन् । यसमा २० वटा स्थानीय जातका दुध दिने गाई छन् । ती दुधालु गाईबाट दैनिक ३२ लिटर दुध बिक्री गर्ने गरेको गौ संरक्षण सेवा समितिकी व्यवस्थापक रिता अवस्थीले जानकारी दिनुभयो ।

    “सुरुवाती चरणमा हामीले तिन लिटर दुधबाट बिक्री गर्न सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “हाल रु ९० प्रतिलिटरको दरले दिनमा ३२ लिटर दुध बिक्री गर्दै आएका छौँ” । जसबाट मासिक रु ८६ हजार ४०० आम्दानी हुँदै आएको छ ।

    केही वर्षदेखि गौशालाबाट गड्यौला मल उत्पादन हुँदै आएको छ । गड्यौला र गोठे मल बिक्रीबाट मासिक रु ४० हजार बराबरको आम्दानी हुने गरेको छ । त्यस्तै गौदान, श्राद्ध, पूजाआजालगायत विभिन्न धार्मिक कार्यक्रमबाट गौशालाको आम्दानी हुने गरेको छ ।

    समाजसेवी व्यक्तित्वबाट पनि केही आर्थिक सहयोग जुटने गरेको छ । कसैले जन्मदिनको अवसर पारेर तथा आफ्ना पितृको नामबाट पशुका लागि आहारा भनेर पनि सहयोग गर्ने गरेको गौशाला व्यवस्थापक अवस्थीले बताउनुभयो । 

    गौशालामा रहेका छाडा पशुचौपायाको हेरविचार, स्याहारसुसारका लागि गौ संरक्षण सेवा समितिले छ जना स्थानीय कर्मचारी राखेको छ । गौशालाबाट भएको आम्दानीबाट मासिक रूपमा रु ६९ हजार ती कर्मचारीको तलबमा खर्च हुने गरेको छ । पशु आहाराको लागि भुसा, पराल, दाना, चोख्खर लगाएतको आहारमा गौशालाबाट भएको आम्दानीले खर्च व्यवहोर्दै आएको छ ।

    गौशालामा रहेका गाईको लागि प्रयाप्त आहारा अपुग छ । प्रयाप्त पोषणयुक्त आहारा पुर्याउन सकेको खण्डमा अझै दुध उत्पादनमा बृद्घि गरी आम्दानी बढाउन सकिने व्यवस्थापक अवस्थीको भनाइ छ ।

    वडा कार्यालय, धनगढी उपमहानगरपालिका, प्रज्ञाप्रतिष्ठान, भटेरीनरी अस्पताल तथा पशुसेवा केन्द्र, टेम्पल रिसोर्टलगायतबाट गौशाला व्यवस्थापनको लागि केही समय अगाडि सहयोग प्राप्त भएको थियो । गौशालालाई अझै थप व्यवस्थित तथा आत्मनिर्भर बनाउन व्यवस्थापन, पशुस्वास्थ्य, आहार र आम्दानीका स्रोत बलियो बनाउन आवश्यक देखिएको व्यवस्थापन समितिले जनाएको छ ।

    गौशालाको व्यवस्थापनको लागि यदि सरकारी तवरबाट सहयोग भएको भए आम्दानी बृद्धिका लागि विभिन्न योजना रहेको गौशाला व्यवस्थापक अवस्थीको भनाइ छ ।