बर्लिन, २५ भदौ : युरोपेली केन्द्रीय बैङ्क (ईसीबी) ले बिहीबार यस वर्ष दोस्रो पटक ब्याजदर बढाएको छ । मध्यपूर्वमा पुनः लडाइँ सुरु भएपछि इन्धन मूल्य आकाशिएको छ, जसले व्यापक मुद्रास्फीति अझ बढ्ने खतरा उत्पन्न गरेको छ ।
व्यापक रूपमा अपेक्षित २१ युरोजोन राष्ट्रहरूका लागि केन्द्रीय बैङ्कले आफ्नो बेन्चमार्क दर एक चौथाइ प्रतिशत बिन्दु बढाएर २.५ प्रतिशत पु¥याएको छ, जुन गत वर्षको मार्चपछिको उच्चतम स्तर हो।
यो ईसीबीको यस वर्षको दोस्रो वृद्धि हो। नीति निर्माताहरूले जुन महिनामा सन् २०२३ यता पहिलो पटक ऋण लागत बढाएका थिए, जुन अमेरिका–इरान युद्धबाट उत्पन्न इन्धन आपूर्तिबाट निम्तिएको झट्काको प्रतिक्रिया स्वरूप थियो ।
“मध्यपूर्वको द्वन्द्वले मुद्रास्फीति दबाब सिर्जना गरिरहेको छ, र मुद्रास्फीति लामो समयसम्म लक्ष्यभन्दा धेरै माथि रहनेछ,” ईसीबीले विज्ञप्तिमा भनेको छ ।
“दृष्टिकोण अत्यन्त अनिश्चित छ, मुद्रास्फीतिका लागि सकारात्मक र आर्थिक वृद्धिका लागि नकारात्मक प्रतिफलको जोखिम छ,” ईसीबीले भनेको छ ।
ईसीबीले यस वर्षको मुद्रास्फीति पूर्वानुमान तीन प्रतिशतमा अपरिवर्तित राखेको छ, तर अर्को वर्षका लागि थोरै बढाएर २.५ प्रतिशत पु¥याएको छ ।
यसले यस वर्षको वृद्धि पूर्वानुमान पनि थोरै बढाएर ०.८ प्रतिशतबाट ०.९ प्रतिशत र अर्को वर्षका लागि १.२ प्रतिशतबाट १.४ प्रतिशत पु¥याएको छ।
अब सबैको नजर ईसीबी प्रमुख (अध्यक्ष) क्रिस्टिन लागार्डको प्रेस सम्मेलनमा हुनेछ, जहाँ बैङ्कको अर्को कदमका सङ्केत खोजिनेछ । केही विश्लेषकहरूले थप दर वृद्धिले युरोजोन अर्थतन्त्रमा दबाब पार्न सक्ने चेतावनी दिएका छन्।
अगस्टमा मुद्रास्फीति ३.३ प्रतिशत पुगेको थियो, जुन ईसीबीको दुई प्रतिशत लक्ष्यभन्दा माथि हो। विश्वव्यापी ऊर्जा मूल्यमा आएको उछालले उच्च मुद्रास्फीतिको त्रास बढाएको हो ।
अन्तर्राष्ट्रिय तेलका लागि मानक मानिने ‘ब्रेन्ट’ ले भनेको छ, “यस साता फेरि प्रति ब्यारेल कच्चा तेलको मूल्य १०० डलर माथि पुगेको छ भने युरोपका लागि प्रमुख ऊर्जा लागत प्राकृतिक ग्यासको मूल्य तीन वर्षभन्दा बढी समययताको उच्चतम स्तरमा पुगेको छ ।
यो उछाल अमेरिका–इरान द्वन्द्वको बढ्दो तीव्रता साथै साउदी अरब र यमनी विद्रोहीबीचको लडाइँ चर्किएको कारणले भएको हो, जसले खाडी ऊर्जा ढुवानी सामान्य अवस्थामा फर्कने सम्भावना कमजोर बनाएको छ ।
युरो क्षेत्रका घरपरिवारका लागि अर्को दर वृद्धि भनेको महँगो धितो ऋण, उपभोक्ता केन्द्रित क्रेडिट र अन्य ऋण हो ।
केन्द्रीय बैङ्क यस पटक आफ्नो फ्रान्कफर्ट मुख्यालयबाट बाहिर नियमित भ्रमणका क्रममा बर्लिनमा बैठक गर्दैछ । यसले ऊर्जा आपूर्ति झट्कालाई कडा मौद्रिक नीतिबाट सामना गर्ने प्रयास गरेकोमा केही पक्षबाट आलोचना खेपेको छ ।
दर वृद्धिले उपभोक्ता र व्यवसायको माग घटाएर मुद्रास्फीति नियन्त्रण गर्ने लक्ष्य राख्छ । आलोचकहरू भन्छन्, “यसले हालको ऊर्जा अभावबाट निम्तिएको मूल्य वृद्धिको मूल कारण सामना गर्न थोरै मात्र योगदान गर्न सक्छ।
अहिलेसम्म युरोक्षेत्रको मुद्रास्फीति खाद्य, वस्तु वा सेवाको लागतमार्फत अर्थतन्त्रमा व्यापक रूपमा फैलिएको कुनै सङ्केत देखिएको छैन।
केही अर्थशास्त्रीहरू भन्छन्, “ईसीबी सन् २०२२ को सङ्कट दोहोरिने चिन्तामा छ, जब रुसको युक्रेन आक्रमणपछिको मुद्रास्फीति उछालमा बैङ्कले दर धेरै ढिलो बढाएको भनेर आलोचना खेपेको थियो ।”
तैपनि केही विश्लेषकहरू थप कडाइको पक्षमा छन् र हालको ऊर्जा उछालले ईसीबीलाई थप दर बढाउन प्रेरित गर्न सक्ने बताउँछन् ।
“गर्मीयाममा मुद्रास्फीतिको दृष्टिकोण बिग्रिएको छ,” एसएन्डपीका युरोप, मध्यपूर्व र अफ्रिकाका प्रमुख अर्थशास्त्री सिल्भेन ब्रोयरले भन्नुभयो ।
“आपूर्ति झट्का मात्र बढिरहेका छैनन्, मागले पनि मुद्रास्फीतिमा योगदान पु¥याउने सम्भावना बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।
“त्यस्तो अवस्थामा ईसीबीले प्रतिबन्धक क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्न सक्छ र अहिले थप दर वृद्धि नहुने भन्न सकिँदैन।”
–––