भदौ २३, २०८३ मंगलबार

गोपालप्रसाद बराल

महोत्तरी, २३  भदौः महोत्तरीसहित मिथिला क्षेत्रमा धमाधम चाडपर्वको लहर सुरु भएको छ । अबको तीन दिनपछि कुशअमावस्या आउँदैछ । 

त्यस लगत्तै आउने चौरचन, विश्वकर्मा पूजा, इन्द्रजात्रा, पितरपक्ष, जीतिया, दशहारा, दीपावली र छठ मिथिला क्षेत्रका महत्त्वपूर्ण चाडपर्व हुन् । यस्ता चाडवाडमा काम विशेषले टाढा रहेका परिवारका सबै सदस्य घरमा जम्मा हुने र आआफ्नो गच्छ अनुरुप मनाउने प्रचलन छ । तर यस पटक मटिहानी–७ की करिब ६० वर्षीया मिथिलादेवी मण्डललाई अहिले नजिकिएका चाडपर्वप्रति कुनै हेक्का छैन । छोरा गङ्गाराम मण्डल भोटेकोशी बाढीसँगै सम्पर्कविहीन भएपछि मण्डललाई जतिखेर पनि छोराकै सम्झनाले झस्काइ रहन्छ ।

“हमर बौवा कहिया आओत्, ओइकेबाट जोहैछी”,  अर्थात मेरो छोरा कहिले आउँछ, अहिले उसकै बाटो हेर्दैछु मिथिला भन्नुहुन्छ ।  “बेटा नइ अई त पावैनतिहार कि आओत”, अर्थात छोरा नभइ चाडपर्व आउनुको के हुन्छ । काठमाडाँैस्थित ऋचा टुर्स एण्ड ट्राभल कम्पनीमा पर्यटकको खाना पकाउने काममा रहेका गङ्गाराम मानसरोवर जाने क्रममा भदौ १० गते भोटेकोशीमा बाढी आएसँगै रसुवाबाट सम्पर्कविहीन हुनुहुन्छ ।

गङ्गाराम सम्पर्कविहीन भएसँगै आफन्त रसुवासम्मै पुगेर खोजी गरेपनि कतै फेला नपरेपछि परिवारजन छटपटिरहनुभएको छ । गङ्गाराम बाढीमा परी वेपत्ता भएपछि पत्नी गुञ्जा शोकले रुँदारुँदा  कम्जोरी हुनुभएको छ । घरमा कोही नयाँ मानिस पुग्यो कि गुञ्जा पतिको केही खबर आयो कि भनी आस गर्नुहुन्छ । तर हालसम्म त्यस्तो आश पलाउने खबर भने कोहीबाट आएको छैन । “कोई हमर परनमाके खबर लाइबदेई”  अर्थात कसैले मेरा पतिको खबर ल्याइदिए त हुन्थ्यो, गुञ्जा बल्लतल्ल यति बोल्नुहुन्छ । “कनियाँके हालत देख्बे करैछी, इ केना उठत ? चाइरगो बालबच्चा अई, हे भगवान् आब बौवा नई आयल त हमर परिवारके कि होयत ?”  अर्थात मेरी बुहारीको हालत देख्नु नै भयो, यो कसरी उठ्छे ? चार वटा लालाबाला छन् , हे भगवान ! छोरा नआए हाम्रो परिवारको के होला ? गङ्गाराम घर नफर्के परिवारको लालनपालन कसरी हुन्छ यही चिन्ताले पिरोलिनु भएकी आमा मिथिलाले घरमा पुगेका सञ्चारकर्मीसँग बिलौना पोख्दै भन्नुभयो ।

गङ्गारामका पिता अशेश्वर मण्डल, आमा, पत्नी र चार छोराछोरीसहित आठ जनाको परिवार छ । ठूलो छोरा सानोतिनो काममा लागेपनि परिवारको लालनपालन गङ्गारामकै आर्जनको भरमा थियो । अहिले घरको मुख्य मान्छे नै सम्पर्कविहीन भएपछि उक्त परिवार छाँगाबाट खसे झै भएको छ ।

गङ्गारामबारे सोधखोज गर्न घर पुग्ने जोसुकैलाई पिता अशेश्वर छोराको फोटो देखाउँदै यसलाई कतै देख्नुभयो भनी सोध्नुहुन्छ । बुढ्यौलीले गाँज्दै लगेका अशेश्वर भन्नुहुन्छ, “ठूलो नाति अहिलेपनि काठमाडौँतिरै बाबुको खोजमा छ, अरु साना लालाबालासँग हामी घरमा छौ, पत्नी मिथिला, बुहारी गुञ्जा र तीन नातिनातिना देखाउँदै उहाँ भन्नुहुन्छ पत्नी मिथिला र बुहारी खानपीन र घरको काम गर्नु भन्दा टोलाइ रहन्छन । बाहिरबाट पुग्ने जो कोही पाहुँनाले हजुरबा, हजुरआमा र आमाका बीच तीन जना छोराछोरी टोलाइरहेका देख्छन् । ती अवोध बालबालिकालाई अझै पनि बाबु गङ्गारामलाई लिएर ठूलदाजु आदित्यराज मण्डल फर्कने आसछ । 

“भैया बाबुके लक औता” अर्थात दाजुले बुबालाई लिएर आउनुहुन्छ दुबै दिदीलाई बुझाउँदै गङ्गारामका करिब १० वर्षीय कान्छा छोरा एकलव्य मण्डल भन्छन् । कान्छो छोराको यो भनाइले हजुरबा, हजुरआमा, आमा र दुई दिदी झन् भक्कानिन्छन् । कान्छा एकलव्यको कुरामा सही थाप्दै उनका दिदी सलोनी र शिवु पनि भाइलाई ढाडस दिन्छन् ।

 घरमा आउनेजानेसँग कुराकानीका आधारमा सम्पर्कविहीन भएको १४ दिन भइसकेकाले अशेश्वरलाई अब छोरा फर्कने त्यति आस छैन । उहाँ भन्नुहुन्छ हेर्नोस् १४ दिन भयो, अब मेरो छोरा सकुशल भेटिन्छ नै भन्ने लाग्न छाड्यो, कुनै अवस्थामा उसलाई सरकारले ल्याइदिए विस्तारै मन बुझाउने कुरा बन्थ्यो ।

आमा मिथिलाले छोराको कल्याण र दीर्घायुूको कामना गर्दै बर्सेनि जितिया पर्वको कठोर व्रत गर्दै आउनुभएको थियो । असोज कृष्णपक्षमा मनाइने यो पर्व नजिकिदै गर्दा मिथिलालाई जितिया पर्वले झस्काएको छ । 
यसैबीच गङ्गाराम कार्यरत ट्राभल्स कम्पनीले भर्खर रसुवा, नुवाकोट, धादिङदेखि चितवनसम्म गरिएको खोजमा उहाँ फेला नपरेको जानकारी परिवारजनलाई गराएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । तर परिवारजन भने कम्पनी, सरकार र अरु खोजकर्ताले जुनसुकै अवस्थाका गङ्गाराम ल्याइदिउन् भनिरहनुभएको छ । केही त चाहियो नि ! पिता अशेश्वर भन्नुहुन्छ, “नत्र कसरी चित्त बुझ्छ ।” गङ्गारामको अवस्था यकिन नहुँदा घरपरिवारसँगै छरछिमेक सबै चिन्तित छन् । गङ्गारामको खोजीसँगै घरपरिवारलाई तत्काल राहत र आडभरोसको जरुरी देखिएको छिमेकी बताउँछन् ।