काठमाडौँ, २१ भदौः पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र उहाँको समूहले नुवाकोटको विदुर नगरपालिका-१० स्थित सुन्दरी केउरेनी माध्यामिक विद्यालयमा आश्रय लिइरहेका बेत्रावती, ढुङ्गे, त्रिशूली र भैँसे क्षेत्रका बाढीपीडित ७० पारिवारलाई ‘स्लिपिङ ब्याग’ (सुत्ने झोला) र ज्याकेट वितरण गर्नुभएको हो ।
त्यस्तै विदुर नगरपलिका महामण्डलमा आश्रय लिइरहेका करिब १०० परिवारलाई ज्याकेट वितरण गरिएको सो समूहका सदस्य कृष्णमान प्रधानले राससलाई जानकारी दिनुभयो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भोटेकोशीको बाढीबाट प्रभावित त्रिशूली, बट्टार र देवीघाट क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको थियो । त्यसक्रममा उहाँले कसैले कल्पना नगरेको बाढी सो क्षेत्रमा देखिएकाले यसलाई खतराका रूपमा लिएर आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो ।