भदौ २१, २०८३ आइतबार

किएभ, २१ भदौ : युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत स्टिभ विटकफ र जारेड कुशनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘ठोस योजनाहरू’बारे छलफल गर्नुभएको छ ।

    मस्कोमा शनिबार भएको तीन घण्टाभन्दा लामो वार्तापछि क्रेमलिनका वरिष्ठ अधिकारी युरी उशाकोभले छलफल ‘अत्यन्त स्पष्ट’ र रचनात्मक भएको बताउनुभयो । उहाँका अनुसार अमेरिकी पक्षले युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे विभिन्न प्रस्ताव अघि सारेको थियो । तर, तत्काल कुनै ठोस सहमति वा सफलता घोषणा गरिएको छैन ।  

    ट्रम्पले यसअघि आफ्ना दूतहरू युक्रेन युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर मस्को र किएभ जान लागेको बताउनुभएको थियो । उहाँले ‘शान्तिका लागि एउटा योजना’ रहेको बताए पनि त्यसको विस्तृत विवरण सार्वजनिक गर्नुभएको छैन् ।

    पुटिनसँगको भेटपछि विटकफ र कुशनर आइतबार युक्रेनको राजधानी किएभतर्फ प्रस्थान गर्नुभएको छ । उहाँहरूले त्यहाँ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।

    यो विटकफ र कुशनरको युद्ध सुरु भएयता पहिलो किएभ भ्रमण हो । उहाँहरूले यसअघि मस्कोमा पटक–पटक रुसी अधिकारीसँग वार्ता गर्दै आउनुभएको छ ।  
    
    क्रेमलिनका अनुसार पुटिनले वार्ताका क्रममा रुसको सैन्य अवस्थाबारे आफ्नो धारणा प्रस्तुत गर्दै पूर्वी युक्रेनमा बाँकी भू–भाग कब्जा गर्ने लक्ष्यबाट पछि नहट्ने सङ्केत दिनुभएको छ । यसले वार्तामा रुस र युक्रेनबीचको मुख्य मतभेद अझै कायमै रहेको देखाएको छ ।  

    अमेरिकी दूतहरूको वार्ताका लागि वातावरण सहज बनाउन रुस र युक्रेनले आफ्ना राजधानीमा तीन दिनसम्म आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन् ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार पुटिनले किभमा तीन दिनसम्म आक्रमण नगर्न रुसी सेनालाई आदेश दिनुभएको छ । जेलेन्स्कीले पनि युक्रेनले मस्कोमाथि आक्रमण नगर्ने बताउनुभएको छ ।

    तर, सीमित आक्रमणविरामका बीच पनि युक्रेनका विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको र त्यसबाट सर्वसाधारणको मृत्यु भएको युक्रेनी पक्षले जनाएको छ ।  

    रुसले पूर्वी र दक्षिणी युक्रेनको ठूलो भू–भाग कब्जा गरेको छ र आफ्नो सैन्य लक्ष्य पूरा गर्ने अडान दोहो¥याउँदै आएको छ । अर्कोतर्फ, युक्रेनले आफ्नो भू–भाग त्याग्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने अडान राख्दै आएको छ ।

    यही कारण अमेरिकी मध्यस्थतामा वार्ता पुनः सुरु गर्ने प्रयास भए पनि तत्काल युद्धविराम वा शान्ति सम्झौता हुने अवस्था अझै स्पष्ट छैन ।

    अमेरिकी दूतहरूको किएभ भ्रमणलाई भने वासिङ्टनको शान्ति प्रयासलाई पुनः गति दिने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।