भदौ २०, २०८३ शनिबार

सुदूरपश्चिम, २० भदौः होटल सङ्घ नेपाल (हान) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाशचन्द्र भट्ट चयन हुनुभएको छ ।

    आज कैलालीको धनगढीमा सम्पन्न प्रथम साधारणसभाले भट्टको नेतृत्वमा १५ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जगदीशचन्द्र भट्ट, उपाध्यक्षमा प्रमानन्द भण्डारी, महासचिवमा पथेकबहादुर शाह चयन हुनुभएको छ ।  

    यसैगरी, कार्यसमिति सदस्यमा पदमविक्रम सिंह, नरेन्द्र खड्का, भुवनसिंह भण्डारी, चन्द्रप्रकाश ओली र वसन्ता भण्डारी, शारदा शाह, पशुपति कुँवर, नवराज जोशी, ज्ञानेन्द्र गुप्ता र दीपेन्द्र शाह चयन हुनुभएको छ । कार्यसमितिमा निवर्तमान अध्यक्ष दिनेशराज भण्डारीसमेत रहनुभएको ।  

    यसअघि, उद्घाटन समारोहमा सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीले उठाएका माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय भएकाले प्रदेश सरकारले गम्भीरताका साथ सम्बोधन गर्ने बताउनुभयो । 
    
    उहाँले होटल व्यवसाय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र प्रदेशको अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै होटल तथा पर्यटन व्यवसायको विकासका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनुभयो ।

    निजी क्षेत्रको लगानीको सुरक्षा र व्यवसाय सञ्चालनमा आवश्यक सहजीकरणका लागि प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै उहाँले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध माछा र पानीको जस्तै हुनुपर्ने बताउनुभयो । सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले सहकार्य र साझेदारीबाट मात्रै प्रदेशको आर्थिक विकासले गति लिनसक्ने उहाँको भनाइ थियो ।

    सुदूरपश्चिम पर्यटन, कृषि, जलस्रोत, उद्योगलगायतका क्षेत्रमा ठूलो सम्भावना भएको प्रदेश रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले ती सम्भावनालाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्न निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभयो ।
---