वियाचा (बोलिभिया), २० भदौ : बोलिभियाको सैन्य परिसरमा भएका दुई वटा छुट्टाछुट्टै विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै ८१ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
बोलिभियाका रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोले बोलिभियाको राजधानी ला पाजको ३० किलो मिटर दक्षिणपश्चिममा रहेको वियाचा स्थित सैन्य परिसरमा विस्पोट भएको बताउनुभएको छ । उहाँका अनुसार उक्त क्षेत्रमा पाइरोटेक्निक सामग्री भण्डार गरिएको थियो ।
विज्ञप्तिमा शुक्रबार दिउँसो लगभग २ः३० बजे भएको विस्फोटको कारण बारे अनुसन्धान भईरहेको उल्लेख गरिएको छ ।
स्थानीय मिडियाद्वारा प्रसारित फुटेजमा विस्पोट पछि सहरको केन्द्रबाट कालो धुवाँको बाक्लो मुस्लो आकाशतिर उढेको देखाइएको छ ।
फुटेजमा विष्फोटले प्रभावित क्षेत्रका घरहरू क्षतिग्रस्त भएको टुटेको झ्याल, भाँचिएको छत र छरिएको भग्नावशेष देखाइएको थियो ।
जस्टिनियानोले दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको पुष्टि भएको बताउनुभएको छ ।
“गम्भीर अवस्थामा“ रहेका दुई जनासहित घाइतेहरूलाई उपचारका लागि मेडिकल सेन्टरमा लगिएको उहाँले बताउनु भएको छ ।
मृतक तथा बेपत्ताहुनेहरुमा उक्त सैन्य परिसरमा कार्यरत सैनिकहरू रहेको रक्षा मन्त्रालयले जनाएको छ ।
प्रहरीको प्रारम्भिक प्रतिवेदनले कम्तिमा ५२ जना सर्वसाधारणसहित ५९ जना घाइते भएको बताएको थियो ।
विस्फोटपछि अग्नि नियन्त्रकहरू सैन्य परिसरमा पुगेर प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित आश्रयमा सारेको जनाइएको छ ।
त्यस क्षेत्रमा सुरक्षाको कारण बिजुली आपूर्ति काटेर उद्धारका लागि दर्जनौँ प्रहरी अधिकारीहरू तैनाथ गरिएको एएफपीले जनाएको छ ।
राष्ट्रपति रोड्रिगो पाजले मृतकको परिवार, घाइते र विस्फोटबाट प्रभावितहरु प्रति सहानुभुति व्यक्त गर्दै घटनाको पूर्ण, प्राविधिक र पारदर्शी अनुसन्धानको लागि निर्देशन दिएको बताउनुभएको छ ।
“हामीले यस घटनाको कारणहरू पूर्ण स्पष्टताका साथ स्थापित गर्नुपर्दछ, सुरक्षा प्रोटोकलको अनुपालन प्रमाणित गर्नुपर्दछ र उत्पन्न हुन सक्ने कुनै पनि जिम्मेवारीहरू निर्धारण गर्नुपर्दछ,” उहाँले समाजिक सञ्जाल एक्समा भन्नुभयो ।
वियाचाका अधिकारीहरूले तीन दिनको शोक घोषणा गरेका छन् ।
लगातार दुईवटा विस्फोट भएको जस्टिनियानोले पुष्टि गर्नुभएको छ ।
पहिलो विस्फोटमा भण्डार गरिएको पाइरोटेक्निक सामग्री समावेश भएको विश्वास गरिएको उल्लेख गर्दै उहाँले दोस्रो विस्फोटको कारण र सामग्री अझै निर्धारण भइ नसकेकोे बताउनुभएको छ ।
रक्षा मन्त्रालयले विस्पोटमा कुनै सैन्य हतियारहरु विस्फोट नभएको बताएको छ ।
यो समयमा प्राथमिकताको विषय मानिसहरू भएकाले घाइतेहरूको हेरचाह गर्ने, उनीहरूको परिवारलाई सहयोग गर्ने, र खोजी र प्रमाणिकरण प्रयासहरू जारी राख्ने जस्टिनियानोले बताउनुभएको छ ।