साउन १९, २०८३ मंगलबार

काठमाडौं । सांसद नरेन्द्रकुमार केडुङले पाँचथरमा देखिएको एलपी ग्यासको अभाव तथा भुस्याहा कुकुरको आतंकका कारण बढ्दै गएको रेबिजको जोखिमबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभामा बोल्दै केडुङले पाँचथरमा मात्रै मासिक करिब १० हजार सिलिन्डर ग्यास आवश्यक पर्ने भए पनि पछिल्ला दिनमा जिल्लाभर ग्यासको हाहाकार भएको बताए।

सरकारले ग्यासको आपूर्ति नियमित रहेको बताउँदै आए पनि उपभोक्ताले ग्यास नपाएको भन्दै उनले आयात भएको ग्यास कहाँ पुग्यो, उद्योग तथा डिलरले कति पाए र जिल्लामा कति वितरण भयो भन्ने तथ्यांक सार्वजनिक गर्न माग गरे।

यदि आपूर्ति नियमित हुँदाहुँदै पनि उपभोक्ताले ग्यास नपाउने अवस्था हो भने यो अभाव नभई वितरण प्रणालीको विफलता भएको उनको भनाइ थियो।

नेपालको एलपीजी आपूर्ति भारतमा निर्भर रहेको उल्लेख गर्दै केडुङले आपूर्ति संकटका बेला धान्न सक्ने रणनीतिक ग्यास भण्डारणको व्यवस्थाबारे समेत सरकारसँग प्रश्न गरे। राष्ट्रिय ऊर्जा सुरक्षाका लागि पर्याप्त रणनीतिक भण्डार सुनिश्चित गर्नुपर्ने उनको माग छ।

त्यस्तै, पाँचथरमा भुस्याहा कुकुरको आतंकका कारण रेबिज संक्रमणको जोखिम बढेको तर रेबिजविरुद्धको खोपको चरम अभाव रहेको भन्दै उनले तत्काल आवश्यक खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।