काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०८२/८३ मा सात वटा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतमा दायर गर्दै एक खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ।
विभागले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार ती मुद्दामा १२१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि कुल एक खर्ब १८ अर्ब पाँच करोड रुपैयाँ बराबरको बिगो दाबी गर्दै कानुनी कारबाही अघि बढाइएको विभागले जनाएको छ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्राप्त सूचनालाई प्रारम्भिक रूपमा स्क्रिनिङ कमिटीले अध्ययन गर्ने व्यवस्था छ। प्रारम्भिक परीक्षणपछि अनुसन्धान आवश्यक ठहरिएमा अनुसन्धान अधिकृत तोकी विस्तृत छानबिन प्रक्रिया अघि बढाइने गरिएको विभागले उल्लेख गरेको छ।
अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन विभागमा चार अनुसन्धान शाखासहित कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा सञ्चालनमा रहेका छन्।
विभागले विशेषगरी राजस्व चुहावट, भन्सार छली, अन्तःशुल्क छलली तथा व्यापारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरणका कसुरमाथि अनुसन्धान गर्दै आएको छ। पछिल्लो समय यस्ता कसुरको अध्ययन, प्रमाण सङ्कलन, अनुसन्धान तथा अभियोजन प्रक्रियालाई थप प्रभावकारी र तीव्र बनाइएको विभागको भनाइ छ।