साउन ६, २०८३ बुधबार

मनिला, ६ साउन : संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा नियन्त्रण कायम गर्ने र त्यहाँबाट शुल्क असुल्ने इरानको दाबीले विश्व अर्थतन्त्रमा जोखिम बढाउने र खतरनाक नजिर बस्ने चेतावनी दिनुभएको छ ।

फिलिपिन्सको राजधानी मनिलामा सुरु भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का विदेशमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै रुबियोले कुनै पनि देशले अन्तरराष्ट्रिय जलमार्गमा नियन्त्रण कायम गरी शुल्क लिन वा शुल्क नतिरेमा जहाजमाथि आक्रमण गर्ने अवस्था स्वीकार्य नहुने बताउनुभयो ।
“यदि मध्यपूर्वमा यस्तो नजिर स्थापित भयो भने, जहाँ कुनै राष्ट्रले अन्तरराष्ट्रिय जलमार्ग नियन्त्रण गर्ने, शुल्क लिने र त्यसको पालना नगरे जहाजमाथि कारबाही गर्ने निर्णय गर्नसक्छ भने यसले विश्वका अन्य भागमा पनि दोहोरिन सक्ने खतरनाक अवस्था सिर्जना गर्नेछ,” उहाँले भन्नुभयो ।
    
रुबियोले इरानले शान्ति सम्झौताअन्तर्गतका प्रतिबद्धताबाट पछि हटेको आरोप दोहो¥याउँदै तेहरानले अमेरिका र अन्य पक्षसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्कमार्फत वार्ताको प्रयास गरिरहेको बताउनुभयो । यद्यपि, अमेरिकाले इरानसँग शान्ति वार्ता पुनः सुरु गर्ने तयारी गरिरहेको कुनै सङ्केत भने उहाँले दिनुभएन ।

आसियान बैठकमा अमेरिका, चीन, रुस, बेलायतलगायतका देशका शीर्ष कूटनीतिज्ञहरू सहभागी भएका छन् । बैठकका क्रममा मध्यपूर्वमा जारी द्वन्द्व, ऊर्जा सुरक्षा तथा क्षेत्रीय स्थिरताका विषयमा छलफल भइरहेको छ ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिका–इरान तनावको शीघ्र समाधान आवश्यक रहेको बताउनुभयो । उहाँले जारी द्वन्द्वले विश्व अर्थतन्त्र र ऊर्जा बजारमा असर पारिरहेको भन्दै रुस स्थिरता चाहने पक्षमा रहेको उल्लेख गर्नुभयो ।

“हामी यो अवस्था अन्त्य भएको हेर्न चाहन्छौँ । यसले विश्व अर्थतन्त्रलाई असर गरिरहेको छ र रुस पनि विश्व अर्थतन्त्रको हिस्सा हो,” लाभरोभले भन्नुभयो ।

ऊर्जा सङ्कटप्रति दक्षिणपूर्वी एसियाको चिन्ता
    
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले मध्यपूर्वमा पुनः चर्किएको द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै युद्धविराम र वार्ताको आवश्यकता औँल्याउनुभयो ।
    
“हामी यो युद्धको अन्त्य चाहन्छौँ । हामी युद्धविराम चाहन्छौँ, वार्ता चाहन्छौँ र होर्मुज जलसन्धि खुला रहोस् भन्ने चाहन्छौँ,” उहाँले भन्नुभयो ।

अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) का अनुसार मध्यपूर्वबाट हुने ऊर्जा आयातमा उच्च निर्भरताका कारण दक्षिणपूर्वी एसिया इरान युद्धबाट उत्पन्न ऊर्जा सङ्कटको जोखिममा परेको छ । सन् २०२५ मा एसियाली बजारहरूले होर्मुज जलसन्धि हुँदै आउने विश्वव्यापी कच्चा तेलको करिब ८० प्रतिशत र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को झन्डै ९० प्रतिशत हिस्सा आयात गरेका थिए ।

चीनको प्रभावबारे क्वाड साझेदारसँग छलफल
    
रुबियोले अमेरिका, अस्ट्रेलिया, भारत र जापान सम्मिलित क्वाड समूहका विदेशमन्त्रीहरूसँग पनि भेटवार्ता गर्नुभयो । भेटपछि जारी संयुक्त वक्तव्यमा क्षेत्रीय समुद्री सुरक्षा र अन्तरराष्ट्रिय नियममा आधारित व्यवस्थाप्रतिको प्रतिबद्धता दोहो¥याइएको छ ।
    
जापानी विदेशमन्त्री तोशिमित्सु मोटेगीले बल प्रयोग गरी यथास्थिति परिवर्तन गर्ने कुनै पनि प्रयासको विरोध गर्नुभयो    । उहाँले दक्षिण चीन सागर र पूर्वी चीन सागरमा देखिएका गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभयो ।

अस्ट्रेलियाकी विदेशमन्त्री वोङले पनि अस्थिरता निम्त्याउने र जोखिमपूर्ण गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्नुभयो ।
    दक्षिण चीन सागरमा चीनको बढ्दो गतिविधिलाई लिएर फिलिपिन्ससहितका क्षेत्रीय मुलुकहरूले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन् । आसियान विदेशमन्त्रीहरूले विवादित जलक्षेत्रमा तनाव कम गर्न चीनसँग प्रस्तावित ‘आक्रमण–रहित सम्झौता’ सम्बन्धी वार्तामा भएको प्रगतिलाई स्वागत गरेका छन् ।

रुबियो–लाभरोभ भेटमा युक्रेन युद्धबारे छलफल हुने
    
रुबियोले बिहीबार रुसी विदेशमन्त्री लाभरोभसँग भेटवार्ता गर्ने जानकारी दिँदै युक्रेन युद्ध अन्त्यका सम्भावनाबारे छलफल हुने बताउनुभयो ।
    
उहाँले अमेरिका द्वन्द्व समाधानका लागि अवसर प्राप्त भए भूमिका निर्वाह तयार रहेको बताउँदै पछिल्ला महिनामा भएका प्रयासहरू कमजोर बनेको उल्लेख गर्नुभयो ।

लाभरोभले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धसम्बन्धी सम्झौता नजिकिएको दाबीबारे रुबियोसँग छलफल गर्ने बताउनुभयो ।
    यसैबीच, रुबियोले भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको छ । भेटमा क्षेत्रीय सुरक्षा, इरान युद्ध तथा अमेरिका–भारत व्यापार सम्बन्धबारे छलफल भएको अमेरिकी अधिकारीले बताएका छन् ।

रुबियोले मनिलामा कडा सुरक्षा व्यवस्था गरिएको सम्मेलन परिसरमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग पनि छुट्टै भेटवार्ता गर्नुभएको छ ।