ब्रिसबेन (अस्ट्रेलिया), ६ साउन : अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट एउटै निषेचित अण्डा चार भागमा विभाजित भई समान चम्ल्याहा (चार) छोरी जन्मिएका छन् । चिकित्सकहरूका अनुसार यस्तो गर्भधारण करिब एक करोड ५० लाखमध्ये एकमा मात्र हुने सम्भावना रहने भएकाले यसलाई अत्यन्त असाधारण घटना मानिएको छ ।
क्विन्सल्यान्डस्थित रोयल ब्रिस्बेन एन्ड वुमेन्स अस्पतालमा ३४ वर्षीया जेनिटर साउ नामोनाले गत १४ जुलाईमा सिजेरियन शल्यक्रियामार्फत चार छोरीलाई जन्म दिनुभएको हो । यसअघि नै चार सन्तानकी आमा रहनुभएकी नामोना र उहाँका पति जोर्थमले थप सन्तान जन्माउने योजना नबनाएका बेला चौगुना गर्भ रहेको जानकारी पाएपछि परिवार नै आश्चर्यमा परेको अस्पतालले जनाएको छ ।
नामोनाको उपचारमा संलग्न मातृ–भ्रूण विशेषज्ञ डा. एलेक्सा बेन्डलका अनुसार चारै शिशु एउटै निषेचित अण्डाबाट विकसित भएका हुन् । गर्भाधानपछि अण्डा चार भागमा विभाजित हुँदा समान चम्ल्याहा शिशुको जन्म भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस्तो घटना विश्वमै अत्यन्त दुर्लभ मानिन्छ र अस्ट्रेलियामा यसअघि यस्तै प्रकृतिको जन्म भएको जानकारी उहाँहरूसँग छैन ।
चिकित्सकीय तथ्याङ्कअनुसार प्राकृतिक रूपमा चम्ल्याहा गर्भधारण हुने सम्भावना करिब सात लाखमध्ये एक मात्र हुन्छ । तर एउटै निषेचित अण्डाबाट समान चम्ल्याहा (चार) शिशु जन्मिने सम्भावना अझ निकै कम रहने भएकाले यस घटनाले चिकित्सकहरूको समेत ध्यान आकर्षित गरेको छ । अधिकांश चम्ल्याहा गर्भधारण भने सहायक प्रजनन प्रविधिको प्रयोगपछि हुने गरेका छन् ।
चारै भ्रूणले एउटै प्लेसेन्टा साझा गरेका कारण नामोनाको गर्भावस्था उच्च जोखिमयुक्त थियो । यस्ता अवस्थामा समयपूर्व प्रसूति, गर्भपतन, जन्मजात समस्या तथा अन्य जटिलता देखिने जोखिम उच्च हुने भएकाले गर्भावस्थाको १०औँ सातादेखि नै विशेषज्ञ चिकित्सकहरूको टोलीले उहाँको नियमित निगरानी गरेको थियो । २५औँ सातामा उहाँलाई अस्पतालमै भर्ना गरी निरन्तर उपचार तथा निगरानी गरिएको थियो ।
डा. बेन्डलले २८ हप्ता चार दिनको गर्भावस्थामै चार स्वस्थ शिशुको जन्म हुनु निकै उत्साहजनक उपलब्धि भएको बताउनुभयो । शल्यक्रियाका क्रममा आमामा सामान्य रक्तस्राव भए पनि अवस्था नियन्त्रणमै रहेको र अहिले उहाँको स्वास्थ्य राम्रो रहेको उहाँले जानकारी दिनुभयो ।
हाल चारै नवजात शिशुको सघन उपचार कक्ष (एनआइसीयू) मा उपचार भइरहेको छ । उनीहरूको नाम एमिली, ह्यारिएट, क्याथरिन र एलेक्सा राखिएको छ । तीमध्ये एक शिशुको नाम आफ्नो सम्मानमा राखिएको जानकारी दिँदै डा. बेन्डलले यसलाई सुन्दर सम्मानका रूपमा लिनुभएको बताउनुभयो ।
उहाँले चिकित्सकीय रूपमा यो घटना अत्यन्त अध्ययनयोग्य भए पनि आफूका लागि सबैभन्दा ठूलो खुसी स्वस्थ आमासहित चार स्वस्थ शिशुलाई सुरक्षित रूपमा संसारमा ल्याउन सफल हुनु रहेको उल्लेख गर्नुभयो ।