भद्रपुर (झापा), ५ साउन : झापाको कचनकवल गाउँपालिकाबाट चार जना जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालका अनुसार कचनकवल गाउँपालिका–६ स्थित बनियानी बजारमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई आज पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार बनियानी बजारस्थित लक्ष्मी माध्यमिक विद्यालय अगाडिको एक किराना पसलमा जुवा तास खेलिरहेका बेला उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा कचनकवल–६ निवासी ३० वर्षीय नरसिंह माझी, ३८ वर्षीय तोपलाल राजवंशी, ४२ वर्षीय मेघनाथ दाहाल र ४० वर्षीय तुलसी यादव रहेका छन् । उनीहरूबाट तासको एक खाल तथा नगद रु ४६ हजार ९७० बरामद गरिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा दुई जना भने फरार भएका छन् । फरार व्यक्तिहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।