साउन ५, २०८३ मंगलबार

काठमाडौँ, ५ साउन : नेपाली सैनिक वार कलेजमा गत चैत १५ गतेबाट सञ्चालन भएको सिसं १४ ‘हायर कमाण्ड’ तथा ‘म्यानेजमेन्ट’ तालिम सम्पन्न भएको छ ।

    सो तालिमको आज यहाँ आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति अशोकराज सिग्देलले समापन गर्नुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
    
    महासेनानी दर्जाका ३५ जना शिक्षार्थीको सहभागिता रहेको तालिमको समापनमा प्रमुख शिक्षक उपरथी मधुकरसिंह कार्कीले तालिमका बारेमा जानकारी गराउनुभएको थियो । महासेनानी प्रशान्त बज्राचार्य उक्त तालिमका सहभागीहरुमध्ये प्रथम (वेस्ट स्टुडेन्ट अफिसर) चयन हुनुभएको थियो भने सर्वोत्कृष्ट शोधपत्र पुरस्कार महासेनानी प्रकाश थापालाई प्रदान गरिएको थियो ।   

    समापन समारोहमा पूर्वप्रधानसेनापतिहरू, रथीवृन्द, अधिकृतलगायत शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो । सैनिक अधिकृतहरूका लागि नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा उच्चस्तरको यस तालिमको उद्देश्य शिक्षार्थीहरूलाई भूराजीति र अर्थराजनीतिक आयामहरु, राजनीतिक दर्शन, कूटनीति र विश्व संरचना, प्रतिरक्षा प्रणाली र नेतृत्व, राज्य सञ्चालन कौशल र यसका आयामहरु जस्ता विषयमा ज्ञान प्रदान गर्नु रहेको थियो । 

    नेपाली सेनामा विसं २०७१ देखि सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म जम्मा ४१० जना अधिकृत दीक्षित भएका सो निर्देशनालयले जनाएको छ ।
---