कात्तिक १२, २०७८ शुक्रबार

महेश सिंह/सिरहा । सप्तरीको बोदेबर्साइन नगरपालिकाभित्र रहेका अधिकांश अस्पताहरू अवैद्य रूपमा सञ्चालनमा रहेको खुलासा भएको छ । बोदेबर्साइन ५ स्थित नइमा हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि सञ्चालनका लागि नगरपालिकामा दर्ता गराए पनि आवश्यक मापदण्ड पूरा नगरेको पाइएको छ । उता, लाइफ केयर पोलिक्लिनिक प्रालिको नाम दिए पनि दर्ता विना नै सञ्चालन गर्दै आएका छन् । 

सरोकारवाला निकायले पोलिक्लिनिक सञ्चालनका लागि ओपिडी, फार्मेसी, ल्याब, एक्सरे, इर्मेजेन्सीसहित एमविविएस डाक्टर अनिवार्य गरेको छ । नइमा हेल्थ केयर फार्मेसी अजयकुमार साहको नाममा प्रतिमा फार्मेसी रहेको छ । फार्मेसी सञ्चालक नइमा हेल्थ केयरमा नबस्ने गरेको छ । जहाँ फार्मेसी सञ्चालक स्वम आफै बसेर सञ्चालन गर्नुपर्ने प्रावधान छ ।

बोदेबर्साइन ५ स्थित रहेको लाईफ केयर पोलिक्लिनिक प्रालिले पाँच वर्षपहिले जनस्वास्थ्य कार्यालयबाट क्लिनिक दर्ता गराएको छ । हाल नवीकरणसमेत नरहेको सो लाइफ केयरले आवश्यक पाँच मापदण्ड पूरा नगरी सञ्चालन गर्दै आएको छ ।

अधिकांशसँग फार्मेसीको प्रमाणपत्रसमेत छैन । अरूको फार्मेसी प्रमाणपत्र भाडामा लिएर सञ्चालित छन् ।