असार ८, २०८३ सोमबार

भरतपुर, ८ असार :  भरतपुर–माडी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको आज तीन जना मन्त्रीले निरीक्षण गर्नुभएको छ ।

    पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकको स्थलगत निरीक्षण गर्नुभएको हो । 

    सडकमा सवारी आवतजावतलाई सहज बनाउनका लागि तत्कालका लागि डिविएसटी पिच गर्ने र दीर्घकालीन रुपमा समस्या समाधनका लागि धु्रवघाटमा पक्की पुल निर्माण गरेर व्यवस्थित सडक निर्माण गरिने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताउनुभयो । मन्त्री लम्सालले धु्रवघाटको पुल र सडकको निर्माणका लागि छिट्टै टेण्डर खोलिने बताउनुभया । 

    हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एक मात्र सडक हो । अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम भइरहेको छ । धु्रव पोष्टबाट राप्ती नदीमा ५०० मिटर लामो पुल निर्माण गरिने चितवन–३ का सांसद तथा मन्त्री सोविता गौतमले बताउनुभयो । उहाँले निकुञ्जभित्र सडकको बैकल्पिक रेखाङ्कन भइरहेको जानकारी दिनुभयो । 

    धु्रवघाटमा पुल निर्माण भए माडी जाने बाटो झण्डै पाँच किलोमिटर छोटो हुनेछ । यो सडक भरतपुरबाट माडी ठोरी हुँदै वीरगञ्जसम्म पुग्छ । भरतपुरबाट भारतको सीमावर्ती क्षेत्र भिखना ठोरी जानका लागि यही मार्ग छोटो पर्छ ।