काठमाडौँ, ८ असारः नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४७औँ स्थापना दिवसको अवसर पारेर काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा सरसफाइ गरिएको छ । ‘हाम्रो बसपार्कः स्वच्छ बसपार्क’ भन्ने नाराका साथ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, लोत्से बहुउद्देश्यीय प्रालि, ट्राफिक प्रहरी र विभिन्न यातायात मजदुर सङ्गठनको सहकार्यमा नयाँ बसपार्क क्षेत्रभित्र सरसफाइ गरिएको हो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वच्छ बसपार्कले सुरक्षित र सभ्य यातायात संस्कृतिको निर्माण गर्ने बताउनुभयो । उहाँले नयाँ बसपार्कको सरसफाइ केवल एकदिने अभियानमा सीमित नभई निरन्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष सिटौलाले स्वच्छ र व्यवस्थित बसपार्कले यात्रुलाई सकारात्मक सन्देश दिनुका साथै यातायात क्षेत्रको छवि सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “बसपार्क हाम्रो साझा कार्यस्थल र यात्रुको पहिलो सम्पर्क बिन्दु हो । यसको सरसफाइ र व्यवस्थापनप्रति हामी सबैको समान जिम्मेवारी छ । स्वच्छ वातावरणले मात्र सुरक्षित, सभ्य र मर्यादित यातायात संस्कृतिको निर्माण गर्न सक्छ”, उहाँले भन्नुभयो ।
लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आफ्नो स्थापना दिवसको अवसर पारेर सञ्चालन गरेको सरसफाइ अभियानको प्रशंसा गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले श्रमिक, व्यवसायी र यात्रुबीच सहकार्य र जिम्मेवारीको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले नयाँ बसपार्क क्षेत्रलाई फोहरमुक्त राख्न यातायात मजदुरको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले तीव्र गतिमा सवारीसाधन नचलाउने, सवारीसाधन चलाउँदा मोबाइलको प्रयोग नगर्ने, मादकपदार्थ सेवन गरेर सवारी नचलाउने, ट्राफिक नियमकको पालना गर्नुपर्ने, यात्रुको सम्मान गर्ने सङ्कल्प आफूहरूले गर्नुपर्ने बताउनुभयो ।
स्थापना दिवसको अवसर पारेर गरिएको उक्त कार्यक्रममा दुई घण्टा लगाएर नयाँ बसपार्क क्षेत्रको सरसफाइ गरिएको थियो । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रमुख सल्लाहकार एवं कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँर, महासङ्घका महासचिव डेकनाथ गौतम, ट्राफिक वृत्त नयाँ बसपार्कका प्रमुख राजेश सिलवाललगायत व्यक्तिको सहभागिता थियो ।