बर्न, स्वीट्जरल्याण्ड, ७ असार : अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ताबाट बृहत् सम्झौता हुन सक्ने बताउनुभएको छ। उहाँले इरानमाथि क्षेत्रमा अस्थिरता निम्त्याउने गरेको आरोप लगाउनुभयो तर पनि वार्ताबाट राम्रो परिणाम आउने आशा व्यक्त गर्नुभयो ।
उहाँले स्विट्जरल्याण्डमा इरानसँगको वार्तामा काफी प्रगति भएको बताउनुभएको छ। “वार्तामार्फत शान्ति सम्झौता हुन सक्छ र क्षेत्रीय स्थिरताको बाटो खुल्न सक्छ,” उहाँले भन्नुभयो ।
अमेरिका र इरानका प्रतिनिधिमण्डलले आइतबार स्विट्जरल्याण्डको बर्गेनस्टाकमा वार्ता गरेका हुन् । वार्तामा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्स मुख्य वार्ताकार रहनुभएको छ ।
उहाँले भन्नुभयो, “राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रतिनिधिमण्डललाई विभिन्न मुद्दाहरूको कूटनीतिक समाधान निकाल्ने अधिकार दिनुभएको छ ।
उहाँले भन्नुभयो, “हाम्रो सामु हामी पश्चिम एशियामा सम्बन्धहरूलाई सदाका लागि बदल्न सक्ने अवसर रहेको छ । हामी विश्वस्त छौँ । वार्ता प्रयासले सार्थकता पाएमा यो सम्भव छ।”
स्विट्जरल्याण्डको लुसर्न नजिकैको बर्गेनस्टाक रिसोर्टमा आइतबार अमेरिकी र इरानी वार्ताकारहरू प्राविधिक छलफलका लागि बसेका थिए। यस क्रममा जेडी भान्सले भन्नुभयो, “राष्ट्रपति ट्रम्प पूरै क्षेत्रमा युद्धविराम गराउन प्रतिबद्ध हुनुहुन्छ ।”
“उहाँले हामीलाई धेरै मुद्दाहरूको कूटनीतिक समाधान खोज्ने अधिकार दिनुभएको छ । उहाँले टोलीलाई इरानी जनतासँग वाशिङ्गटनको सम्बन्धमा नयाँ सुरुवात गर्न निर्देशन दिनुभएको छ।”
भान्सले थप्नुभयो, “यो वार्ता दुवै देशको कूटनीतिक इतिहासमा एउटा अभूतपूर्व क्षण हो। प्राविधिक छलफलले सायद सबै मतभेदहरू हल नहोलान्, तर यसले हामीलाई इतिहासमा पहिलो पटक वार्ता टोलीको रूपमा प्रत्यक्ष वार्ता गर्नेे मौका दिएको छ । हामी कूटनीतिमार्फत मध्यपूर्वमा परिवर्तन ल्याउने प्रयास गरिरहेका छौँ।”
यसैबीच, आइतबार बसेको बैठकले छलफलका बिषयहरूलाई साझा गरेको छ र सोमबार पुनः अर्को बैठक बस्नेगरी स्थगित भएको छ।