असार ६, २०८३ शनिबार

तेह्रथुम, ६ असार : तेह्रथुमको फेदाप गाउँपालिकामा आदिवासी याक्थुङ (लिम्बू) मुन्धुम, सभ्यता, इतिहास तथा भाषासम्बन्धी भेला सुरु भएको छ । 

    फेदाप गाउँपालिकाको आयोजना तथा नेपाल आदिवासी जनजाति महासङ्घ, फेदाप गाउँपालिका समिति, तेह्रथुमको व्यवस्थापनमा शुक्रबारदेखि सुरु भएको चुम्लुङ आज साँझसम्म सञ्चालन हुनेछ । चुम्लुङमा फेदाप क्षेत्रका लिम्बू समुदायका विभिन्न थरीका प्रतिनिधिहरू सहभागी रहेका छन् । 

    चुम्लुङमा लिम्बू समुदायको मुन्धुम, सभ्यता, इतिहास, भाषा तथा भाषिक विविधताका विषयमा छलफल भइरहेको फेदाप गाउँपालिकाकी उपाध्यक्ष सुनिता पाहिमले बताउनुभयो । 

    लिम्बू समुदायभित्र फेदापे, पान्थरे, छथरे र तम्बरखोले गरी चार प्रमुख भाषिका प्रचलनमा रहेका छन् । तेह्रथुमको फेदाप क्षेत्रमा फेदापे तथा छथर क्षेत्रमा छथरे भाषिका बोलिन्छ भने पाँचथरमा पान्थरे र ताप्लेजुङमा तम्बरखोले भाषिका प्रयोग हुने गरेको छ ।

    सहभागीहरूले हालसम्म पान्थरे भाषिकामा मात्र पाठ्यक्रम विकास गरिएकाले अन्य भाषिका बोलिने क्षेत्रमा भाषा शिक्षणमा समस्या भइरहेको बताएका छन् । स्थानीय तहहरूले भाषा संरक्षणका लागि विद्यालयमा पठनपाठन सञ्चालन गरिरहेका भए पनि भाषागत भिन्नताका कारण शिक्षण–सिकाइमा चुनौती देखिएको उनीहरूको भनाइ छ । भेलाको सहजीकरण विषयविज्ञ अनुसन्धाता तथा मुन्धुमविद् डिबी आङ्बुङले गरिरहनुभएको छ । 

    लिम्बूवान् क्षेत्रका विभिन्न थुम (डाँडा तथा भौगोलिक क्षेत्र) अनुसार भाषिकामा विविधता देखिने भएकाले स्थानीय भाषिकामै पाठ्यक्रम निर्माण गर्नुपर्ने विषयमा छलफल भइरहेको व्यवस्थापन समितिका अध्यक्ष शिव कुरुम्बाङले बताउनुभयो ।

    फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले स्थानीयस्तरकै भाषिकामा पाठ्यपुस्तक निर्माणका लागि गाउँपालिका सकारात्मक रहेको बताउनुभयो । 

    हालसम्म पान्थरे भाषिका तुलनात्मक रूपमा परिष्कृत मानिएकाले लिम्बू भाषाका पाठ्यपुस्तक सोही भाषिकामा तयार गरिएका छन् । 

    चुम्लुङमा लिम्बू समुदायका धार्मिक तथा सांस्कृतिक ग्रन्थ ‘मुन्धुम’सम्बन्धी विषयमा पनि चर्चा भइरहेको छ । फेदापको पोक्लाबाङ क्षेत्र सातरेनुहाङ तथा १९ थरी लिम्बू समुदायसँग सम्बन्धित महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थल भएकाले यसको संरक्षणका विषय समेत उठाइएका छन् । 

    फेदाप गाउँपालिकाले लिम्बू भाषा, लिपि तथा संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि वार्षिक रु १८ देखि २० लाखसम्म बजेट विनियोजन गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । चुम्लुङका सहभागीहरूले भाषा, संस्कार, संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा स्थानीय तहले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा धरानबाट आउनुभएका प्रवेग हाङ्स्रोङले बताउनुभयो ।