असार ६, २०८३ शनिबार

चितवन, ६ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को औपचारिक बैठक आज यहाँ सुरु भएको छ । महाधिवेशनमा लैजाने ‘एजेन्डा’ पारित गर्न अन्तिम बैठक भरतपुरको दियालो फुडल्याण्डमा सुरु भएको हो ।

बैठकले आइतबारदेखि यहाँ हुने महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली पारित गर्ने प्रवक्ता मनिष झाले बताउनुभयो । उहाँका अनुसार बैठकले विधान संशोधन प्रस्ताव पारित गर्ने छ । उहाँले भन्नुभयो, “यो अन्तिम औपचारिक बैठक हो, भैपरी आएमा अनौपचारिक बैठक बस्न सक्छ ।”  

यसअघि नै सचिवालयले केन्द्रीय समितिका लागि पठाएका एजेन्डाहरूमाथि छलफल गरेर आज पारित हुने उहाँले बताउनुभयो । ती एजेन्डा महाधिवेशनमा लगिने छ । त्यहाँ अनुमोदनपछि कार्यान्वयन हुने उहाँको भनाइ छ ।

विधान संशोधन गरेर केन्द्रीय समितिको सङ्ख्या बढाउन लागिएको छ भने महिला सहभागितालाई पनि बढाइँदै छ । बैठक सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको हो । यसअघि दिउँसो १ः०० बजे बस्ने भनिएको बैठक केही ढिलो र ठाउँ परिवर्तन गरी सुरु भएको हो । महाधिवेशनका लागि केन्द्रीय समितिसँगै नेता र प्रतिनिधिहरू चितवन आउने क्रम सुरु भएको छ ।