असार ६, २०८३ शनिबार

कञ्चनपुर, ६ असारः ‘सगुना फाग’ संरक्षण गर्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले संरक्षण कार्यक्रम सञ्चालन गरेको छ । लोपोन्मुख बन्दै गएको यस सांस्कृतिक विधालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले बुढापाकाबाट तन्नेरी पुस्तालाई सगुना फाग सिकाउने कार्यक्रम सञ्चालन गरेको हो ।

पाका पुस्तासँगै सगुना फाग हराउँदै जान थालेपछि यसको संरक्षणका लागि अभियान थालिएको देउडा संस्कृति संरक्षण प्रतिष्ठान, कञ्चनपुर शाखाका अध्यक्ष गोदावरी ठगुन्नाले बताउनुभयो । उहाँका अनुसार सगुना फाग गाउन जान्ने ज्येष्ठ महिलाको खोजी गरी उहाँहरूबाट युवा पुस्तालाई प्रशिक्षण दिने कार्य गरिएको छ ।

मौखिक परम्परामार्फत पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सगुना फाग आधुनिक जीवनशैलीको प्रभावसँगै सङ्कटमा पर्न थालेपछि यसको संरक्षण आवश्यक भएको अध्यक्ष ठगुन्नाको भनाइ छ । उहाँले डोटेली भाषामा गाइने यी माङ्गलिक गीतले स्थानीय भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

सुदूरपश्चिमका जिल्लामा विवाह, व्रतबन्ध, न्वारन तथा विभिन्न धार्मिक तथा माङ्गलिक अवसरमा ढोल, दमाहाको तालसँगै सगुना फाग गाउने चलन छ । तर पछिल्लो समय युवा पुस्ताले सिक्न हिच्किचाउने र ज्येष्ठ महिलाले सिकाउने अवसर कम हुँदै जाँदा यो मौलिक सांस्कृतिक सम्पदा लोप हुने जोखिम बढेको अध्यक्ष ठगुन्नाले बताउनुभयो ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले सगुना फाग संरक्षण कार्यक्रमलाई दुई वर्षदेखि निरन्तर सञ्चालन गर्दै आइएको जानकारी दिनुभयो । उहाँका अनुसार बुढापाकाबाट सिकेका महिलाले अब अन्य इच्छुक महिलालाई पनि सिकाउने वातावरण सिर्जना गरिएको छ । यो परम्पराको पुस्तान्तरणलाई अझ प्रभावकारी बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पाका पुस्ताबाट तन्नेरी पुस्ताले सगुना फागसहित डोटेली संस्कृतिसँग जोडिएका अन्य माङ्गलिक गीत सिक्ने कार्यले मौलिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

 

संरक्षण कार्यक्रममा सक्रिय सगुना फागका जानकार दुर्गा जोशीका अनुसार सगुना फाग गाउने क्रममा दमाहा बजाएर बढाइँ गर्ने चलन डोटेली भाषी समुदायमा प्रचलित छ । शब्द र भाव समान भए पनि यसको लय भने जिल्लापिच्छे फरकफरक हुने उहाँको भनाइ छ । सगुना फागसँगै हराउँदै गएका पुराना पहिरन, चालचलन र संस्कारसमेत यस कार्यक्रममार्फत सिकाउने गरिएको उहाँले बताउनुभयो ।

सगुना फाग न्वारन, क्षौर कर्म, ताई लगाउने, जग्यो लगाउने, हातमा पटली बाँध्ने, छोरीको विवाहमा खुट्टा धुने, लया भुट्ने, बेहुलाबेहुलीले फेरा लगाउने, जन्ती आगमन, दुलही भित्र्याउनेलगायत विभिन्न माङ्गलिक संस्कारमा गाइन्छ ।

यस्तै, सासुले टीका लगाउने, बेहुला तयार हुने, बरियात दुलहीको घर पुग्ने, गौरापर्वमा बिरुडा भिजाउने, व्रतबन्ध, सत्यनारायण कथा, सप्ताह पुराण तथा महायज्ञजस्ता धार्मिक अवसरमा पनि सगुना फाग गाउने परम्परा रहिआएको छ । सगुना फाग गाउने महिलालाई ‘फगारी’ भनिन्छ । एक जना जानकार महिलाले सुरुआत गरेर लयबद्ध रूपमा गीत गाउँदा अन्य महिलाले सोही लय समातेर सामूहिक रूपमा साथ दिने चलन छ ।

नगरपालिकाका अनुसार सगुना फाग संरक्षण र प्रवर्द्धन कार्यक्रमअन्तर्गत गत वर्ष ३० जना महिलाले गायन तालिम लिएका थिए भने यस वर्ष ४५ जना महिलालाई प्रशिक्षण प्रदान गरिएको छ ।