तनहुँ, ५ असारः जिल्लाको भानु नगरपालिकाले ८८ जना गर्भवतीका लागि पोषणयुक्त खाद्यान्न वितरण गरेको छ । सामाजिक विकास कार्यक्रमको आयोजना, भानु नगरपालिकाको समन्वय तथा सानिमा बैंकको आर्थिक सहयोगमा बिहीबार पोषणयुक्त खाद्यान्न वितरण गरिएको हो ।
गर्भावस्थामा आमाको स्वास्थ्य अवस्था सुदृढ बनाउन र पोषणको पहुँच बढाउने उद्देश्यले कार्यक्रम लागू गरिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्य चन्द्र भट्टराईले बताउनुभयो । पहिलो चरणमा वडा नं १ देखि ६ सम्मका गर्भवतीलाई लक्षित गरी सम्बन्धित वडामा पुगेर पोषणयुक्त खाद्यान्न प्रदान गरिएको छ ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले स्वास्थ्य र पोषणमा लगानी गर्नु स्वस्थ समाज निर्माणको आधार भएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले गर्भवती तथा बालबालिकाको पोषण अवस्था सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
–––