कर्णाली, ४ असारः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल गरिएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको १२औँ बैठकमा सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहलाई कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १३८ उपनियम २ र ३ बमोजिम राजस्व र व्ययको अनुमानसहितको आगामी आवको बजेटमाथि सामान्य छलफल गरियोस् भनि सभामा प्रस्ताव गर्न समय दिनुभयो । उक्त प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत भएसँगै बजेटमाथिको छलफल सुरु भएको हो ।
बैठकमा भाग लिँदै प्रदेशसभा सदस्य सन्तोषी शाहीले योजना बाँडफाँडमा हुने बदमासीलाई घटाउन नसकेको तथा लाभ लिनै पर्नेलाई बजेटले सम्बोधन गर्न नसकेको औँल्याउँदै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कर्णालीको पर्यटन सम्भावनालाई सरकारले जोड्नुपर्ने, कृषिलाई व्यवसायीकरण, प्रशासनिक खर्च नियन्त्रण गर्न, अनुत्पादक खर्च घटाउनुपर्ने धारणा बैठकमा राख्नुभयो ।
प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले बजेट आम्दानी र खर्चको फेहरिस्त मात्र नभई विकासको खाका, समृद्धिको सपना र समुन्नतिको प्रबन्ध पत्र भएको बताउनुभयो । उहाँले पूर्वाधार विकास कर्णालीको पहिलो प्राथमिकता भएको र बजेटले त्यो सम्बोधन गरेको बताउनुभयो । मानव पूँजीको निर्माण, नवप्रवर्तन, उद्यमशीलता, रोजगारी सिर्जना, शासकीय सुधार, जनमुखी प्रशासन र सदाचार जस्ता महत्वपूर्ण विषय बजेटमा आउनु सकरात्मक पक्ष भएको उहाँको भनाइ थियो ।
प्रदेशसभा सदस्य रनसिंह परियारले नीति तथा कार्यक्रम नआए पनि आयआर्जनका लागि सरकारले चालु आर्थिक वर्षको रु पाँच करोडबाट बढाएर रु १२ करोड पुर्याएको प्रति खुसी व्यक्त गर्नुभयो । उहाँले बैंक खाता छोरीको सुरक्षा जीवन भरिको कार्यक्रम नआउनुको कारणबारे जवाफ दिन आग्रह गर्नुभयो ।
प्रदेशसभा सदस्य जानकी सिंहले कर्णालीको अभाव जनशक्ति पूरा गर्नतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उद्योग निर्माणमा ध्यान दिएर यहाँको स्रोत साधनलाई उपयोग र परिचालन गर्नेतर्फ बजेट तथा कार्यक्रम हुनुपर्ने उहाँको भनाइ थियो ।
प्रदेशसभा सदस्य जीतबहादुर मल्लले कर्णालीले आफ्नो आम्दानीलाई वृद्धि गर्ने कार्यक्रममा जोड दिन सुझाउनुभयो । करको दरमात्र नभएर पर्यटनको संरचना निर्माण गरी यसको दायरा बढाउनुपर्ने उहाँको भनाइ थियो ।
बैठकको आकस्मिक समयमा बोल्दै प्रदेशसभा सदस्य दक्षिणा शाहीले सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोटका सुरेन्द्रबहादुर शाहीका हत्यारालाई यथाशीघ्र कानुनी कारवाहीमा ल्याउन माग गर्नुभयो ।
छलफलमा उठेका जिज्ञासा तथा प्रश्नमाथिको जवाफ आर्थिक मामिलामन्त्री शाहले शुक्रबार दिनुहुने सभामुख गुरुङले जानकारी दिनुभयो । प्रदेशसभाको अर्को बैठक यही असार ५ गते दिउसो ३ः०० बजे बस्नेछ ।