गलकोट (बागलुङ), ४ असारः बागलुङको बडिगाड गाउँपालिकाका आठ वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । गाउँपालिका नै स्थानीय शासनयुक्त घोषणाका वडा घोषणा अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकाले सङ्घीय सरकारको सहयोगमा तीन वर्ष यता पोषणमैत्री गाउँपालिका बनाउने अभियान सफल भएको छ । गाउँपालिका १, २, ५, ६, ७, ८, ९, १० नम्बर वडालाई पोषणमैत्री वडा घोषणा सम्पन्न गरिएको छ भने क्रमश ३ र ४ वडालाई पनि पोषणमैत्री घोषणा गरेर बडिगाड गाउँपालिकानै पोषणमैत्री गाउँपालिका घोषणा हुने बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।
थापाका अनुसार जेठ २८ गते बडिगाड गाउँपालिका–९ दर्लिङलाई पहिलो वडाको रुपमा घोषणा गरिएको र जेठ २९ गते ५ नम्बर, जेठ ३० गते १ नम्बर वडा, ३१ गते ५ नम्बर वडा, असार १ गते ७ नम्बर वडा, असार २ गते २ नम्बर वडा र असार ३ गते ८ र १० वडालाई पोषणमैत्री घोषणा गरिएको छ । असार ४ गते सम्म १० वटै वडालाई पोषणमैत्री वडा घोषणा गरिने गाउँपालिकाले जनाएको छ ।
पोषणमैत्री गाउँपालिका निर्माणका लागि आवश्यक ३४ वटै सूचक पूरा भएपछि पोषणमैत्री वडा घोषणा भइरहेको छ । जिल्ला स्तरीय अनुगमन समितिको अनुमतीमा पोषणमैत्री वडा घोषणा भइरहेको हो ।
बडिगाड गाउँपालिकामा तीन वर्ष यता पोषण सुधारमा थुप्रै काम भएको स्थलगत अनुगमनमा देखिएको र विभिन्न समूहहरु गठनगरी पोषण सचेतना सहित आवश्यक सबै तयारी पूरा भई वडाहरु पोषणमैत्री घोषणा भइरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले जानकारी दिनुभयो ।
गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० देखि गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयनमा ल्याएर वडा–वडामा सहजकर्ता खटाउने, तालिम दिने, करेशावारी, भान्सा, गोठ सुधार संगै रैथाने अन्नबालीको उपयोगमा जोड दिएपछि गाउँपालिका पोषणमैत्री बनेको छ । विद्यालयका विद्यार्थीले विद्यालयमा पत्रुखाजा निषेध गरेर सातु, कोदोको हलुवा, खिर, चना र अण्डा लगायतका खाजा खुवाउन थालिएको छ । अहिले विद्यालयमा शुद्ध खानेपानी देखि तौल गर्न स्वास्थ्य चौकी आएका बालबालिकालाई अण्डा उपहार समेत दिन थालिएको बडिगाड गाउँपालिका–१० स्थित दुर्गममा रहेको दर्लिङ आधारभूत स्वास्थ्य केन्द्रका भीम कुमारी बुढा मगरले जानकारी दिनुभयो ।
बडिगाडका सबै विद्यालयमा पत्रु खाना (जङ्क फुड) लैजान रोक लगाइएको छ । विद्यार्थीले घरबाटै ल्याउनुपरेमा पनि पोषणयुक्त खाना मात्र विद्यालयमा ल्याउन पाइने नियम छ । विद्यालयबाहेकको समयमा पनि घर र समुदायमा पुगी पोषणयुक्त खानेकुराको महत्व र प्रयोगका बारेमा सचेतना जगाउने काम भइरहेको बडिगाड गाउँपालिका–१ का पोषण सहजकर्ता टीका गिरीले बताउनुभयो ।
गाउँपालिकाका पोषणमैत्री घोषणा गर्न दसवटै वडामा पोषण प्रवद्र्धन तथा सुधारका गतिविधि सञ्चालन सम्पन्न भइसकेको र स्वास्थ्य, शिक्षा, कृषि, पशु, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका र शासकीय प्रबन्धका क्षेत्रमा तोकिएका सूचकहरु पूरा भएको कार्यक्रमका संयोजक शेरबहादुर बुढाले बताउनुभयो । गाउँपालिकाभित्र रहेका ६९ टोल पूर्ण सरसफाइयुक्त घोषणा, सबै स्वास्थ्य संस्था समेत पोषणमैत्री बनिसकेको उहाँको भनाइ छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याएको ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०८०’ ले पोषणमैत्री स्थानीय तह घोषणाका लागि ३४ वटा सूचक तय गरेको मा सबै सूचकमा नतिजा हासिल भइसकेको छ ।