असार ३, २०८३ बुधबार

डिल्लीराज पौडेल

काठमाडौँ, ३ असार (रासस): ‘पूर्ण आफूलाई बुझ्ने यात्रा अपूर्ण आफूभित्रैबाट सुरु हुन्छ ।’ जब मानिस बाहिरी संसारको दौडधुपबाट केही क्षणका लागि फर्केर आफ्नै अन्तरात्माको ढोकामा पुग्छ, तब आत्मखोजको वास्तविक यात्रा प्रारम्भ हुन्छ । जीवनका अनगिन्ती जिम्मेवारी, उपलब्धि, सम्बन्ध, सफलता र सङ्घर्षका बीचमा एक क्षण यस्तो पनि आउँछ, जब मानिसले आफूलाई आफैँसँग प्रश्न गर्छ; “म वास्तवमा को हुँ ?”

    मानव सभ्यताको सम्पूर्ण इतिहास जति पुरानो छ, त्यो प्रश्न पनि त्यति नै पुरानो छ । यही प्रश्नले ऋषिहरूलाई ध्यानमा डुबायो, दार्शनिकलाई गहिरो चिन्तनमा हरायो, कविहरूलाई शब्द दियो र वैज्ञानिकलाई सत्यको निरन्तर खोजतर्फ प्रेरित ग¥यो । समय बदलियो, सभ्यताहरू बदलिए, विज्ञान र प्रविधिले अभूतपूर्व उन्नति ग¥यो तर मानव अन्तरमनमा गुञ्जिरहने यो प्रश्न आज पनि उत्तिकै जीवन्त छ किनकी बाहिरी संसारलाई बुझ्नु र जित्नु जति चुनौतीपूर्ण छ, त्यसभन्दा अझ गहिरो यात्रा आफ्नै अन्तरचेतनालाई बुझ्ने, भेट्ने र अनुभूति गर्नुमा छ ।

    एक समय यस्तो पनि थियो, जब बाहिरी उपलब्धिहरूले नै जीवनको पूर्णता दिनेछन् भन्ने विश्वास स्वाभाविक लाग्दथ्यो । जिम्मेवारी, पद, प्रतिष्ठा, सफलता र सामाजिक मान्यताका विभिन्न चरणहरू पार गर्दै जाँदा एउटा प्रश्न भने भित्र कतै मौन रूपमा जीवित रहिरह्यो; के यति नै जीवन हो ? बाहिरी उपलब्धिहरू बढ्दै गए, अनुभवहरू विस्तार हुँदै गए, संसारलाई बुझ्ने अवसर प्राप्त हुँदै गए तर भित्री खोज समाप्त भएन । बरु समयसँगै अनुभूति हुन थाल्यो कि मानिसले संसारलाई जति बुझ्दै जान्छ, आफूलाई बुझ्ने आवश्यकता त्यति नै गहिरिँदै जान्छ । यही अनुभूतिले अन्ततः आत्मखोजको यात्रालाई भित्री दिशातर्फ मोडिदिन्छ ।

आधुनिक युग र चेतनाको सङ्कट 

    आजको मानव समाज अभूतपूर्व परिवर्तनको युगमा प्रवेश गरिसकेको छ । विज्ञान, प्रविधि, सञ्चार र भौतिक विकासका क्षेत्रमा मानव सभ्यताले उल्लेखनीय प्रगति हासिल गरेको छ । सुविधा बढेका छन्, सम्पर्कका माध्यम विस्तार भएका छन्, जीवनशैली आधुनिक बनेको छ र संसार पहिलेभन्दा धेरै सानो तथा पहुँचयोग्य भएको छ । अर्कोतर्फ यही समयमा मानिसभित्रको शान्ति, सन्तुलन र आत्मीयता भने क्रमशः कमजोर हुँदै गएको अनुभव गर्न सकिन्छ । भौतिक समृद्धि बढेको छ तर मानसिक तनाव पनि बढेको छ । सूचनाको पहुँच बढेको छ, तर आत्मज्ञानको गहिराइ घटेको छ । सम्पर्क बढेका छन् तर सम्बन्धहरूको आत्मीयता कमजोर भएको छ ।

    सुविधाहरू बढेका छन्, तर सन्तुष्टि घटेको छ । आज मानिससँग सूचना छ तर अन्तर्दृष्टि कम छ । ज्ञान छ, तर आत्मज्ञान कम छ । साधनहरू छन्, तर साधना कम छ । बाहिरी उपलब्धिहरू छन्, तर भित्री सन्तुलन क्रमशः दुर्लभ बन्दै गएको छ । डिजिटल युगले मानव जीवनलाई एकातिर जोडेको छ भने अर्कोतिर विचलित पनि बनाएको छ । निरन्तर सूचना प्रवाह, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता र तीव्र प्रतिस्पर्धाले बाहिरी संसारसँगको सम्बन्ध विस्तार गरेको छ तर धेरै मानिस आफ्नै अन्तरचेतनासँग टाढिँदै गएका छन् ।
आज विश्व मानसिक तनाव, एक्लोपन, असहिष्णुता, हिंसा, वातावरणीय सङ्कट र मूल्यगत विचलनका चुनौतीहरूसँग जुधिरहेको छ । यी समस्याको समाधान केवल आर्थिक स्रोत, प्रविधि वा नीतिगत सुधारले मात्र सम्भव हुँदैन । यसको मूलमा मानव चेतनाको गुणस्तर पनि उत्तिकै महत्त्वपूर्ण रूपमा जोडिएको हुन्छ । सचेत व्यक्तिबिना सचेत समाज निर्माण हुन सक्दैन । सचेत समाजबिना दिगो शान्ति सम्भव हुँदैन । त्यसैले आत्मबोधको यात्रा केबल व्यक्तिगत विषय होइन; यो सामाजिक, राष्ट्रिय र विश्वव्यापी महत्त्वको विषय पनि हो।यही कारणले आधुनिक युगको सङ्कट केवल आर्थिक, राजनीतिक वा सामाजिक सङ्कट मात्र होइन; यो चेतनाको सङ्कट पनि हो ।
    
    ज्ञान र विज्ञानको वैभवले मानिसलाई संसार चिनायो तर आत्मज्ञानको अभावले मानिसले आफूलाई चिन्न सकेन । यही नचिनेको अस्तित्वको खोजमा मानिस जीवनभर भौँतारिरहन्छ । शरीरलाई आफू ठानिन्छ, विचारलाई आफू ठानिन्छ, भावनालाई आफू ठानिन्छ, पद र प्रतिष्ठालाई आफू ठानिन्छ । तर समयसँगै यी सबै परिवर्तन भइरहन्छन् । शरीर बदलिन्छ । विचार बदलिन्छन् । परिस्थितिहरू बदलिन्छन् । सम्बन्धहरू बदलिन्छन् । दृश्य संसार स्वभावतः अस्थिर र परिवर्तनशील छ । तर एउटा सत्य सधैँ अपरिवर्तित रहन्छ; सबै अनुभवलाई अवलोकन गर्ने चेतनाको मौन उपस्थिति यही उपस्थिति आत्मबोधको यात्राको प्रवेशद्वार हो ।

समग्र आरोग्यताको आवश्यकता  

    आधुनिक युगले मानव जीवनलाई अभूतपूर्व सुविधा प्रदान गरेको छ । विज्ञान र प्रविधिको विकासले जीवनलाई सहज बनाएको छ, स्वास्थ्य सेवाको पहुँच बढाएको छ, ज्ञान र सूचनाको संसारलाई औँलाको स्पर्शमै ल्याइदिएको छ तर यति धेरै प्रगतिका बीचमा पनि एउटा प्रश्न झन् गम्भीर रूपमा उठ्न थालेको छ; के मानिस वास्तवमै स्वस्थ, सन्तुलित र सुखी छ ? यही प्रश्नले आज विश्वभर स्वास्थ्यको परम्परागत अवधारणालाई पुनर्विचार गर्न प्रेरित गरिरहेको छ । 

    स्वास्थ्य अब केबल रोगको अनुपस्थिति मात्र होइन भन्ने बुझाइ विस्तार हुँदै गएको छ । यसको स्थान समग्र आरोग्यताको अवधारणाले लिँदै गएको छ । समग्र आरोग्यता भनेको शरीर स्वस्थ हुनु मात्र होइन । यो शारीरिक, मानसिक, भावनात्मक, सामाजिक, आध्यात्मिक र वातावरणीय सन्तुलनको एकीकृत अवस्था हो । यस्तो अवस्था जहाँ मानिस केवल बाँचिरहेको हुँदैन, बरु सचेत रूपमा जीवनलाई अनुभव गरिरहेको हुन्छ । जहाँ जीवन केवल दिनहरू बिताउने प्रक्रिया हुँदैन, बरु अर्थपूर्ण, सन्तुलित र आनन्दपूर्ण अस्तित्वको अनुभूति बन्दछ ।

    शारीरिक स्वास्थ्यले जीवनलाई ऊर्जा प्रदान गर्छ । मानसिक सन्तुलनले स्पष्टता र स्थिरता दिन्छ । भावनात्मक परिपक्वताले सम्बन्धहरूलाई स्वस्थ बनाउँछ । सामाजिक सद्भावले सहअस्तित्वलाई सुदृढ बनाउँछ । आध्यात्मिक चेतनाले जीवनलाई गहिरो अर्थ र दिशा प्रदान गर्दछ । वातावरणीय सन्तुलनले सम्पूर्ण अस्तित्वसँगको सम्बन्धलाई सुरक्षित र जीवन्त बनाउँछ । यी सबै आयामहरू एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । कुनै एकपक्ष असन्तुलित हुँदा त्यसको प्रभाव सम्पूर्ण जीवनमा देखिन थाल्दछ ।

    आजको युगमा मानिससँग धन, पद, प्रतिष्ठा र सुविधा प्रशस्त हुन सक्छन् तर यदि मन अशान्त छ, सम्बन्धहरू तनावपूर्ण छन्, जीवनको उद्देश्य अस्पष्ट छ र चेतना विचलित छ भने बाहिरी उपलब्धिहरूले दीर्घकालीन सन्तुष्टि दिन सक्दैनन् । यही कारणले आरोग्यता विलासिताको विषय होइन, जीवनको आधारभूत आवश्यकता बनेको छ ।

    विश्वभर मानसिक स्वास्थ्य, मानव सुख, सामाजिक सद्भाव, वातावरणीय सन्तुलन र दिगो विकासबारे बढ्दो बहसले एउटा महत्वपूर्ण सत्य उजागर गरेको छ । आर्थिक प्रगति मात्र पर्याप्त छैन । भौतिक समृद्धि मात्र विकासको पूर्ण मापदण्ड हुन सक्दैन । यदि विकासले मानिसको चेतना, करुणा, सन्तुलन र जीवनको गुणस्तरलाई उन्नत गर्न सकेन भने त्यो विकास अधुरो रहन्छ । आज विश्वले विकासको नयाँ परिभाषा खोजिरहेको छ । यस्तो विकास जसले केवल पूर्वाधार निर्माण मात्र नगरी मानव चेतनाको पनि विकास गरोस् । यस्तो समृद्धि जसले केबल उपभोग बढाउने होइन, जीवनको अर्थलाई पनि गहिरो बनाओस् । यस्तो प्रगति जसले बाहिरी सुविधा मात्र होइन, भित्री शान्तिलाई पनि पोषण गरोस् ।

    यही सन्दर्भमा जीवन विज्ञानको दृष्टिकोण विशेष रूपमा सान्दर्भिक देखिन्छ । जीवन विज्ञानले आरोग्यतालाई केबल स्वास्थ्य कार्यक्रम, उपचार पद्धति वा जीवनशैली सुधारको विषयका रूपमा मात्र हेर्दैन । यसले आरोग्यतालाई आत्मबोध, चेतना जागरण र समग्र कल्याणसँग जोडिएको जीवनदर्शनका रूपमा प्रस्तुत गर्दछ । सारगत रूपमा, आरोग्यता कुनै अन्तिम उपलब्धि होइन; बरु यो निरन्तर विकसित हुने जीवन प्रक्रिया हो । यो आफूलाई बुझ्ने, आफ्ना विचार र भावनालाई परिष्कृत गर्ने, शरीर र मनलाई सन्तुलित बनाउने तथा चेतनालाई जागृत गर्ने निरन्तर साधना हो । 

    यस यात्रामा मानिस बाहिरी सफलतासँगै भित्री शान्ति, आत्मीयता र अस्तित्वगत पूर्णताको अनुभूतितर्फ अग्रसर हुन्छ । यही बिन्दुबाट जीवन विज्ञानको वास्तविक यात्रा सुरु हुन्छ । बाहिरी संसारलाई परिवर्तन गर्ने प्रयासभन्दा पहिले आफूलाई बुझ्ने र रूपान्तरण गर्ने यात्रा । समग्र कल्याणको आधार बाहिर होइन, अन्ततः मानिसको आफ्नै चेतनाभित्र स्थापित हुन्छ ।

दुःख मोक्ष, आनन्द प्राप्ति र समग्र कल्याण 
    
    जीवन विज्ञानले मानव जीवनको मूल उद्देश्यलाई अत्यन्त सरल तर गहिरो रूपमा व्यक्त गर्दछ; दुःख मोक्ष र आनन्द प्राप्ति । मानव जीवनका अधिकांश प्रयत्नहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यही दुई आकाङ्क्षाका वरिपरि केन्द्रित हुन्छन् । मानिस दुःखबाट मुक्त हुन चाहन्छ र आनन्दको अनुभव गर्न चाहन्छ तर प्रायः दुःखका कारण बाहिर खोजिन्छ र आनन्दको स्रोत पनि बाहिरै खोजिन्छ ।

    जीवन विज्ञानले दुःखको मूल कारण बाहिरी संसार होइन, आफ्नै वास्तविक स्वरूपबाट टाढा हुनु हो भन्ने सिकाउँछ । जब मानिस शरीर, विचार, भावना वा बाहिरी पहिचानलाई मात्र आफ्नो सम्पूर्ण अस्तित्व ठान्दछ, तब परिवर्तनशील कुरासँगको आसक्तिले दुःख जन्माउँछ । परिवर्तनलाई स्थायी बनाउन खोज्दा निराशा उत्पन्न हुन्छ र अस्थिरलाई स्थिर बनाउन खोज्दा पीडा उत्पन्न हुन्छ । यसले मानिसलाई अन्तहीन खोज र असन्तुष्टिको चक्रमा राखिरहन्छ तर जब चेतनासँग पुनःसम्बन्ध स्थापित हुन थाल्छ, जीवनप्रतिको दृष्टि परिवर्तन हुन्छ । दुःख शत्रुजस्तो लाग्दैन; बरु आत्मबोधतर्फ डो¥याउने शिक्षकजस्तो अनुभूत हुन्छ । चुनौती दण्ड होइनन्; चेतनाको परिपक्वताका अवसरजस्ता देखिन थाल्छन् । पीडाले पनि जीवनको गहिरो अर्थ बुझाउने माध्यमको रूप लिन्छ ।

    जब मन वर्तमान क्षणमा स्थिर हुन थाल्दछ, श्वासमा सजगता आउँछ र चेतना क्रमशः जागृत हुँदै जान्छ, तब आनन्द कुनै बाह्य उपलब्धिको परिणामका रूपमा होइन, आफ्नै स्वाभाविक स्वरूपका रूपमा प्रकट हुन पुग्दछ । यस्तो आनन्द परिस्थिति, उपलब्धि, प्रशंसा वा भौतिक सफलतामा निर्भर हुँदैन । यो त भित्री सन्तुलन, सजग चेतना, आत्मीय सम्बन्ध र सच्ची भावबाट सहज रूपमा प्रवाहित हुने गहिरो अनुभूति हो, जसले व्यक्तिलाई शान्ति, सन्तुष्टि र समग्र कल्याणको दिशातर्फउन्मुख गराउँछ । यही अनुभूतिबाट समग्र कल्याणको यात्रा सुरु हुन्छ । समग्र कल्याण केबल व्यक्तिगत सुख वा मानसिक शान्ति मात्र होइन; यो शरीर, मन, भावना, सम्बन्ध, समाज, प्रकृति र चेतनाबीचको सन्तुलित सामञ्जस्यको अवस्था हो । जहाँ व्यक्ति स्वयंभित्र शान्त हुन्छ, सम्बन्धमा करुणा विकसित हुन्छ, समाजप्रति उत्तरदायित्व प्रकट हुन्छ र सम्पूर्ण अस्तित्वप्रति सम्मानको भावना जागृत हुन्छ ।

    जब शरीर योगद्वारा सन्तुलित हुन्छ, श्वास प्राणायामद्वारा परिष्कृत हुन्छ, मन ध्यानद्वारा शान्त हुन्छ र चेतना आत्मजागरणतर्फ उन्मुख हुन्छ । जीवन क्रमशः आफ्नो मौलिक स्वरूपतर्फ फर्कन्छ । अभ्यास केबल विधि मात्र रहँदैनन् । ती जीवन जिउने शैलीका रूपमा स्थापित हुन्छन् । सजगता ध्यानको समयमा मात्र सीमित रहँदैन । यो दैनिक व्यवहार, सम्बन्ध, निर्णय र जीवन दृष्टिमासमेत अभिव्यक्त हुन्छ । सच्चा भावसहितको यस्तो जीवनदृष्टिले व्यक्तिलाई भित्री सन्तुलनतर्फ उन्मुख गराउँछ । यसबाट शान्ति, आनन्द र समग्र कल्याणको अनुभूति विकसित हुन्छ । त्यसपछि विस्तारै अनुभूति हुन थाल्छ कि बाहिर खोजिएको शान्ति आफ्नै अन्तरमनभित्र थियो । खोजिएको प्रेम आफ्नै चेतनाको स्वाभाविक गुण थियो । खोजिएको आनन्द आफ्नै अस्तित्वको मौलिक स्वरूप थियो। र खोजिएको पूर्णता पनि सधैँदेखि आफ्नै अन्तरदीपभित्र निहित थियो । यही अनुभूतिले दुःख मोक्षलाई सम्भव बनाउँछ, आनन्दलाई स्वाभाविक बनाउँछ र समग्र कल्याणलाई जीवनको जीवित यथार्थमा रूपान्तरण गर्छ । (लेखक मलेसियाका लागि नेपाली पूर्वराजदूत हुनुहुन्छ)