असार २, २०८३ मंगलबार

लुम्बिनी, २ असारः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सीमित स्रोत र साधनका बीच पनि अधिकतम काम गरेको बताउनुभएको छ ।
    
    लुम्बिनी प्रदेशसभाको विशेषाधिकार समितिको आयोजनामा लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरीमा) आजदेखि सुरु बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेशसभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सम्मेलन सङ्घीयता मजबुत बनाउने कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । 
    
    उहाँले सङ्घीयतामाथि विभिन्न कोणबाट चुनौती र षड्यन्त्र हुने गरेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थाको संस्थागत सुदृढीकरणका लागि प्रदेशसभाको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

    प्रदेशसभाका विशेषाधिकार समितिबीचको समन्वय, अनुभव आदानप्रदान र साझा सिकाइले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने उहाँको भनाइ थियो । 
    
    प्रदेशहरू स्वायत्त र सक्षम रहेको उल्लेख गर्दै उहाँले अन्तरसंवाद र अनुभव आदानप्रदानबाट रहेका कमीकमजोरी हटाउन सहयोग पुग्ने बताउनुभयो । 
    
    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशले भौतिक पूर्वाधार निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा थप प्रभावकारी परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 
    
    लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय तथा अन्य प्रदेश गौरवका आयोजना सफलतापूर्वक अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो । 

    प्रदेश सरकारका मन्त्रालयको सङ्ख्या १२ बाट आठमा झारेर प्रशासनिक खर्च नियन्त्रण र कार्यसम्पादनमा सुधार ल्याउनेगरी काम अघि बढेको उहाँको भनाइ थियो । 
    
    विशेषाधिकार समिति लुम्बिनी प्रदेशसभाका सभापति गिरधारीलाल न्यौपानेले प्रस्तुत गर्नुभएको अवधारणापत्रमा प्रदेशसभाको गरिमा, स्वतन्त्रता, प्रभावकारिता र उत्तरदायित्वलाई सुदृढ बनाउन विशेषाधिकार समितिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको थियो । 
    
    समितिबीच संस्थागत समन्वय अभिवृद्धि गर्ने, संसदीय विशेषाधिकारसम्बन्धी अभ्यासको समीक्षा गर्ने, साझा मापदण्ड विकास गर्ने तथा अन्तरसंसदीय सहकार्य विस्तार गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिइयो ।
    
    सो अवसरमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सङ्घीयता सफल बनाउन प्रदेश संरचनालाई थप बलियो बनाउनुपर्ने बताउनुभयो । 
    
    लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसी, संविधानसभा सदस्य खिमलाल देवकोटा, बागमती प्रदेश विशेषाधिकार समितिकी सभापति मायादेवी शर्मा तथा सुदूरपश्चिम प्रदेश विशेषाधिकार समितिका सभापति तुलसी देवकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सम्मेलनमा तीनै प्रदेशका विशेषाधिकार समितिका सभापति, सदस्य, प्रदेशसभा पदाधिकारी, विज्ञ तथा कर्मचारीको सहभागिता छ ।