दाङ, २ असारः इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका यहाँका नौ जना स्थानीयले जग्गा खाली गर्न सुरु गरेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुर र सोही स्थानमा बसोबास गर्दै आएकाबीच यसअघि भएको छलफलपछि उनीहरु आफैँले जग्गा खाली गर्न थालेका हुन् । कार्यालयले १२ जेठमा १५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न भनेको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका नाममा स्रेस्ता दर्ता कायम भएको कित्ता नं २६८३ को १८६२.४६ वर्गमिटर जग्गामध्ये उत्तरतर्फको दुई कट्ठा जग्गा र सो जग्गामा निर्माण भएका नौ वटा घर खाली गरिएको छ । स्थानीयका सरसामान इलाका प्रहरी कार्यालयले तोकिएकै स्थानमा सुरक्षित साथ पु¥याउन थालेको छ ।
उक्त स्थानका दुई सुकुम्वासीको बासस्थानको जिम्मा तुल्सीपुर नगरपालिकाले लिएपछि धमाधम संरचना भत्काउन सुरु गरिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका नायब उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो ।
–––