काठमाडौँ, ३१ जेठः कवि राजेश ढुङ्गानाको कृति ‘मुटु फलाम भएर’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं लेखक रोचक घिमिरेले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
लेखक घिमिरेले नेपाली साहित्यका प्रखर स्रष्टा राजेश ढुङ्गानाको ‘मुटु फलाम भएर’ कविता कृति उत्कृष्टमध्येको एक रहेको बताउनुभयो । उहाँले यस कृतिले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण पहिचान बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी विभिन्न साहित्यकार तथा कविहरूले ‘मुटु फलाम भएर’ कविता कृति भाव, शैली र प्रस्तुतिका दृष्टिले रोचक रहेको धारणा राख्नुभयो । उहाँहरूले उक्त कृति साहित्यप्रेमी पाठकका लागि रुचिको विषय बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कवि राजेश ढुङ्गानाले लामो अध्ययन, मेहनत र जीवनका विभिन्न अनुभवलाई समेटेर उक्त कविता कृति तयार पारिएको बताउनुभयो । उहाँले पाठकको माया र प्रतिक्रियाले आफूलाई थप सिर्जनात्मक ऊर्जा मिल्ने उल्लेख गर्नुभयो ।