जेठ ३०, २०८३ शनिबार

म्याग्दी, ३० जेठः अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु) जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । 

    छोरीप्रतिको सकारात्मक सोच विकास, लैङ्गिक समानता प्रवर्द्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिङ्ग पहिचान गरी भ्रुण हत्या गर्ने समस्या न्यूनीकरणका लागि छोरी जन्मिए प्रोत्साहन भत्ता दिने कार्यक्रम सुरु गरेको हो । 

    अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन भएको उक्त कार्यक्रममार्फत २०८२ साउनयता जन्मिएका छोरीका अभिभावकलाई रु १२ हजारका दरले प्रोत्साहन रकम वितरण गरिने जानकारी दिनुभयो । 

    “छोरी जन्म प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी बालिका जन्मप्रति समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ”, उहाँले भन्नुभयो, “छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार चालु आव २०८२/८३ मा विनियोजित बजेटमार्फत कार्यक्रम कार्यान्वयन थालिएको छ ।”

    छोरी जन्मप्रति सकारात्मक सोच विकास गर्नुका साथै बालिकाको संरक्षण, शिक्षा र सशक्तीकरणमा टेवा पुर्‍याउनु रहेको जनाइएको छ । 

    सो कार्यक्रमअन्तर्गत २०८२ साल साउन १ गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले असार ७ गतेसम्म आवेदन पेस गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताउनुभयो ।