तेह्रथुम, २९ जेठः यहाँको म्याङलुङ नगरपालिकाले कृषि यान्त्रीकरण तथा स्थानीय बाली प्रवर्द्धन गर्ने उद्देश्यले किसानलाई ५० प्रतिशत लागत साझेदारीमा २५२ थान कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले २३३ वटा हाते ट्याक्टर र १९ वटा कम्बाइन्ड मिल वितरण गरेको हो ।
नगरपालिकाका कृषि शाखा प्रमुख सरु श्रेष्ठका अनुसार म्याङलुङ-४, ६, ८ र ९ को बजेट तथा पालिकाको नियमित कार्यक्रमअन्तर्गत ती उपकरण खरिद गरी वितरण गरिएको हो । पालिकाका नौ वटा वडामा ती उपकरण वितरण गरिसकिएको बताउँदै वडा नं ४ का लागि भने ३३ वटा हाते ट्याक्टर वितरण गर्ने तयारी भइरहेको कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेका अनुसार कृषि क्षेत्रमा जनशक्ति अभाव भइरहेका बेला हाते ट्याक्टरको प्रयोगले खेतीलाई सहज, छिटो र कम खर्चिलो बनाउने भएकाले किसानलाई उक्त उपकरण उपलब्ध गराइएको हो । उहाँले कोदो, फापर, गहुँ, जौलगायत स्थानीय बाली प्रशोधन गर्न समय र श्रम बढी लाग्ने भएकाले पछिल्लो समय किसानले यस्ता बाली लगाउन छाड्दै गएका बताउनुभयो ।
स्थानीय बाली संरक्षण तथा प्रवर्द्धनका लागि पालिकाले बीउविजन वितरण, पोषण तथा स्वास्थ्यसम्बन्धी उपयोगिताबारे अभिमुखीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुका साथै प्रशोधनलाई सहज बनाउन कम्बाइन्ड मिल वितरण गरेको नगरप्रमुख तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।
म्याङलुङ-१ भदौरेका किसान ठगेन्द्र भण्डारीले हाते ट्याक्टरको प्रयोगले श्रम र समयको बचत भएको बताउनुभयो । “एउटा ट्याक्टरले तीन-चार घरको खेत जोत्न पुग्छ । जोत्नकै लागि गोरु पाल्नुपर्ने बाध्यता हट्ने विश्वास छ । गोरु पाल्न खर्चिलो हुने तथा त्यसका लागि आवश्यक घाँसपात अन्य पशुपालनमा उपयोग गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
म्याङलुङ-१ भ्युटावरका किसान वीरेन्द्र तामाङले चितुवाको आक्रमणबाट गोरु घाइते भएपछि खेती कसरी गर्ने भन्ने चिन्ता रहेको अवस्थामा पालिकाबाट हाते ट्याक्टर प्राप्त गरेपछि राहत मिलेको बताउनुभयो । करिब ३५ रोपनी जग्गामा मकै, कोदो, तोरीलगायत खेती गर्दै आउनुभएका उहाँले रु १९ हजार ७०० तिरेपछि आधा लागतमा नगरपालिकाबाट हाते ट्याक्टर प्राप्त गर्नुभएको बताउनुभयो ।
“एक हल गोरु किन्न रु ५० हजारभन्दा बढी खर्च लाग्थ्यो । बहर गोरु ल्याए पनि त्यसलाई दाएर जोत्नसक्ने बनाउन वर्ष दिन लाग्थ्यो । आफूसँग ट्याक्टर थिएन, अरुबाट महँगो शुल्क तिरेर जोत्न लाइन्थ्यो । किन्न पनि पैसाको जोहो गर्न गाह्रो थियो । पालिकाले अनुदानमा उपलब्ध गराएपछि खेती गर्न सहज हुने भयो”, उहाँले भन्नुभयो ।
म्याङलुङ-१० ओख्रे तम्फुलाकी ईश्वरीमाया खड्काले रु १५ हजार ७०० तिरेर कम्बाइन्ड मिल प्राप्त गर्नुभएको छ । कोदो पिस्न तथा बेसार कुट्न ढिकीको प्रयोग गर्दै आउनुभएकी उहाँले आधा लागतमा मिल प्राप्त भएपछि खुसी व्यक्त गर्नुभयो । आफैँले खरिद गर्दा पूरा रकम तिर्न गाह्रो हुन्थ्यो । पालिकाले ५० प्रतिशत अनुदानमा मिल उपलब्ध गराएपछि सहज भएको छ”, उहाँले भन्नुभयो ।