जेठ २७, २०८३ बुधबार

काठमाडौँ, २७ जेठः प्रतिनिधिसभामा ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित सोसम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । 

बैठकमा सभामुख डोलप्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने  र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने व्यहोरा जानकारी गराउनुभयो । उहाँले छलफलका लागि चार घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो । 

सांसदहरूले आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिइरहनुभएको छ । बैठकमा अर्थमन्त्री वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । 

बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेर तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सुनाउनुभएको थियो । 

सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको नाम मनोनयन तथा सभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गरेको व्यहोरा सभालाई जानकारी गराउनुभएको थियो । सो हेरफेरलाई सभाले सहमति जनाएको थियो । बैठकमा सभामुख अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रियसभाबाट संविधानः तोकिएको अवधिभित्र फिर्ता नभएको जानकारी सदनलाई गराउनुभयो ।
---