जेठ २०, २०८३ बुधबार

गण्डकी, २० जेठ : गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा आजदेखि छलफल सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले मङ्गलबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको हो ।  

प्रदेशसभा सदस्य जीतप्रकाश आले मगरले विनीयोजन विधेयकका सिद्धान्त र प्राथमिकताअनुसार नीति तथा कार्यक्रम र सोही आधारमा बजेट ल्याउनुपर्ने बताउनुभयो । सङ्घीय प्रणालीलाई थप सुदृढ गर्नेगरी बजेट तथा कार्यक्रमलाई केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य निर्मला थापाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकता दिई नीति तथा कार्यक्रम आएको बताउनुभयो । 

नीति तथा कार्यक्रमलाई बजेटले सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य कुसुम बुढा पुनले करको दर नभई दायरा बढाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारलाई आत्मनिर्भर बनाउने गरी नीति, कार्यक्रम र बजेट तुर्जमा गर्नुपर्ने बताउनुभयो । उत्पादन र रोजगारी वृद्धिलाई जोड दिनुपर्ने उहाँको भनाइ छ । 

प्रदेशसभा सदस्य विन्दु पौडेलले केही नयाँ कार्यक्रम घोषणा गरिए पनि अधिकांश कार्यक्रम परम्परागत र सतही भएको बताउनुभयो । उहाँले नागरिकको माग र आकङ्क्षालाई पूरा गर्नेगरी बजेट तथा कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले पर्यटन क्षेत्रको विकासका लागि नीति तथा कार्यक्रममा नयाँ सोच र योजना समावेश भएको बताउनुभयो ।

उहाँले कतिपय कार्यक्रम तथा योजना कार्यान्वयनमा नीतिगत अस्पष्टताका कारण समस्या भइरहेको भन्दै पहिले त्यसलाई हल गर्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य सुनिता थापा, बेदबहादुर गुरुङलगायते नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभएको थियो । त्यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गर्नुभएको थियो । 

नागरिकको दैनिक जीवनमा अनुभूत हुनेगरी प्रभावकारी सेवा प्रवाह, समावेशी विकास, सुशासन र सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्नेगरी नीति तथा कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ । ‘आत्मनिर्भर र समुन्नत प्रदेश ः सुखी प्रदेशवासी’ को दीर्घकालीन सोचलाई मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्दै ल्याइएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।