जेठ १४, २०८३ बिहिबार

गलकोट (बागलुङ), १४ जेठः बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरको ‘पार्किङ’ शुल्कबाट सङ्कलन गरिएको रकमलाई शिक्षा क्षेत्रमा खर्च गर्न थालिएको छ । 

कालिका भगवती गुठी व्यवस्थापन समितिले पार्किङ शुल्कबाट सङ्कलित रकमलाई विद्यालयको शैक्षिक सुधारमा खर्च गर्न दुई विद्यालमा रु चार लाखको अक्षयकोष स्थापना गरेको हो । व्यवस्थापन समितिले पदभार ग्रहण गरेको माघ महिनादेखि वैशाखसम्म सङ्कलित रकमबाट बालमन्दिर आधारभूत विद्यालय बागलुङ नगरपालिका–२ र रामरेखा आधारभूत विद्यालय बागलुङ नगरपालिका–१ रामरेखामा रु दुई÷दुई लाखको अक्षयकोष स्थापना गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । 

उहाँले माघ महिनादेखि पार्किङबाट सङ्कलन भएको रु चार लाख रकमलाई विद्यालयको शैक्षिक सुधारमा खर्च गर्नका लागि विपन्न्न र गरिब परिवारका छोराछोरी पढ्ने विद्यालयमा अक्षयकोष स्थापना गरिएको जानकारी दिनुभयो । “पहिलो चरणमा दुई विद्यालयको कोष स्थापना गरेका छौँरु उक्त कोषको ब्याजबाट विद्यार्थीलाई शैक्षिक सामग्री खरिदमा सहयोग पुग्नेछ, पार्किङ शुल्कबाट आएको रकमले दुई वटै विद्यालयमा कोष वृद्धि गरेर चार÷चार लाख पु¥याइने छ”, उहाँले भन्नुभयो, “मन्दिरको पार्किङबाट सङ्कलन भएको रकम यसअघि मानव सेवा आश्रमलाई प्रदान गरिएको थियो, अब जिल्लाका विपन्न परिवारका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालयमा उक्त कोष स्थापना गरिनेछ ।”

समितिले आवश्यकताका आधारमा थप सामुदायिक विद्यालयमा क्रमशः ‘कालिका भगवती गुठी अक्षयकोष’ स्थापना गर्दै जाने जनाएको छ । उक्त कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । मन्दिरको सामाजिक उत्तरदायित्वअनुसार शिक्षा क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले कोष स्थापना गरिएको हो । 

कोष स्थापनाले विद्यालयलाई केही राहत पुग्ने रामरेखा आधारभूत विद्यालयका प्रधानाध्यापक सिर्जना पौडेलले जानकारी दिनुभयो । विद्यालयमा सीमान्तकृत माझी समुदायका छोराछोरी, अपाङ्ग भएका विद्यार्थीसहित १३० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । 

उहाँले अधिकांश विद्यार्थी निम्नआय भएका परिवारबाट भएकाले सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्रबहादुर केसीले विद्यार्थीको पोसाक, खाजा, झोला तथा यातायातजस्ता आवश्यकता विभिन्न निकायको सहयोगबाट व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै कालिका गुठीको सहयोग विद्यार्थीको उज्ज्वल भविष्यका लागि महत्वपूर्ण हुने जानकारी दिनुभयो । 

समितिका अनुसार पार्किङ व्यवस्थापनमा खटिएका कर्मचारीको खर्च कटाएर २०८२ माघदेखि २०८३ वैशाखसम्म चार लाख रकम सङ्कलन भएको कालिका मन्दिरले जनाएको छ ।  

हाल पार्किङ शुल्क स्वेच्छिक राखिएको भए पनि सामान्यतया मोटरसाइकल रु १० देखि चारपाङ्ग्रे सवारीसाधनबाट रु ५० सम्म सङ्कलन हुँदै आएको छ । आर्थिक अवस्था कमजोर भए पनि अध्ययन गर्न इच्छुक विद्यार्थीलाई यस्तो अक्षयकोषले महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।