जेठ १२, २०८३ मंगलबार

काठमाडौँ, १२ जेठः राष्ट्रियसभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

    भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्यलगायत विषयमा छलफल भएको उपाध्यक्ष भण्डारीको सचिवालयले जनाएको छ । उपाध्यक्ष भण्डारीले नेपाल र चीनबीच शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पुरानो मित्रता तथा पारस्परिक संवेदनशीलताको सम्मानमा आधारित उत्कृष्ट सम्बन्ध रहेको उल्लेख गर्दै ‘एक–चीन सिद्धान्त’ प्रति दृढ प्रतिबद्धता जनाउनुभयो । साथै, नेपालको भूमिबाट चीनको हित विपरीत कुनै गतिविधि हुन नदिने उहाँले प्रतिबद्धता पनि दोहो¥याउनुभयो । 

    सिजाङसँगको सहकार्यबारे चर्चा गर्दै उपाध्यक्ष भण्डारीले व्यापार, पर्यटन, कृषि र ऊर्जा क्षेत्रमा भएको प्रगतिप्रति खुसी व्यक्त गर्नुभयो । हाल सिजाङ र नेपालबीचको व्यापारले नेपाल–चीन कुल व्यापारको करिब एक तिहाइ हिस्सा ओगटेको जानकारी दिँदै उहाँले सन् २०२५ को पहिलो ६ महिनामा २.१९ अर्ब युआन बराबरको व्यापार भएको र यो अघिल्लो वर्षको तुलनामा २२.१ प्रतिशतले वृद्धि भएको बताउनुभयो । 

    उपाध्यक्ष भण्डारीले नेपाल–सिजाङ आर्थिक तथा व्यापार सहजीकरण समितिको १३औँ बैठक गत जुन २०२५ मा ल्हासामा सफलतापूर्वक सम्पन्न भएको तथा १४औँ बैठक यसै वर्ष काठमाडौँमा आयोजना गर्ने तयारी रहेको जानकारी समेत दिनुभयो । धुलिखेल नगरपालिका र अली प्रिफेक्चरबीच भगिनी सम्बन्ध स्थापना भएकोप्रति उहाँले खुसी व्यक्त गर्नुभयो । 

    अन्तर संसदीय सहकार्यका विषयमा उपाध्यक्ष भण्डारीले प्रतिनिधिसभा र चिनियाँ राष्ट्रिय जनकांग्रेसबीच सन् २०२२ मा भएको समझदारीपत्रलाई महत्वपूर्ण कोसेढुङ्गा भएको बताउँदै आगामी दिनमा सङ्घीय संसद्मा नेपाल–चीन संसदीय मैत्री समूह गठन गर्ने योजना रहेको बताउनुभयो । उहाँले सिजाङले पूर्वाधार विकास, आर्थिक समृद्धि तथा जनजीविकामा हासिल गरेको उपलब्धिले नेपालका लागि थप आर्थिक अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । 
–––